जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घर भत्काएका ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
भूकम्पका कारण पोल तथा लाइनमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो। प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मत सम्भार गरी बिहान १० बजेपछि विद्युत् पुन: सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरुको लाइनमा विद्युत् सञ्चालन गरिएको बताए।
यादवले घरहरु भत्किएका ठाउँमा उद्धार जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे।
उनले धेरै घर भत्किएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको जानकारी दिए।
Shares
प्रतिक्रिया