काठमाडौँस्थित भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयले आज परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक सम्पन्न गरेका छन्। भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए।
बैठकमा परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको सहभागीता थियो।
विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचाअन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो। बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रबारे पनि छलफल भएको थियो।
बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनाका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकताअनुसार विकास सहकार्यमा सघाउन र नेपालसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए।
अर्थमन्त्री डा. महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारे। उनले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।
भारत नेपालको सबैभन्दा ठूलो र प्रमुख विकास साझेदार हो। सन् १९५१ मा सुरु भएको भारत–नेपाल विकास साझेदारी ७ दशकमा झनै फैलिएको छ र निरन्तरता पाएको छ। विकास साझेदारीअन्तर्गतका परियोजना भौगोलिक रुपमा नेपालभर फैलिएका छन् र आकार र क्षेत्रका हिसाबले अलग छन्।
Shares
प्रतिक्रिया