ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा ढकाल नियुक्त गर्ने निर्णय गरेको हो।
माघ ३ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै ढकाललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो।
उनै ढकालले कामु सीईओको जिम्मेवारी सम्मालेको दुई सातापछि सीईओको जिम्मेवारी पाएका हन्।
यसअघि ढकाल हाम्रो विकास बैंकको सीईओ थिए। हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो।
ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्। प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ।
साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा काम गरिसकेका छन्।
Shares
प्रतिक्रिया