एनसेल कर्मचारी ट्रेड युनियनले कम्पनीको व्यवसायिक छविमाथि आँच आउने गरी दुस्प्रचार भइरहेको भन्दै आपत्ति जनाएको छ।
‘एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको सेयर खरिद बिक्री प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्यवसायिक वातावरणलाईनै हतोत्साही गर्ने कुन्ठित मनसायले ओतप्रोत भई केहि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति’ गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको छ।
ट्रेड युनियनले कम्पनीमा स्पेक्ट्रलाइट यूके लिमिटेडमार्फत नेपाली मुलका लगानीकर्ता भित्रिएसँगै हामी नयाँ जोश र जागरका साथ अगाडि बढ्ने भन्दै युनियनले नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट यूकेलाई स्वागत पनि गरेको छ।।
विगतमा पनि यस कम्पनीको शेयर स्वामित्व परिवर्तन भएका र नेपालको कानून बमोजिम तिर्नु बुझाउनु पर्ने कर तथा विभिन्न समयमा सम्मानित अदालतले तोके बमोजिमका कर भुक्तानी गरेको पनि युनियनले जनाएको छ।।
‘नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको एनसेलले स्थापना पश्चात् हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब भन्दा बढि कर तथा शुल्कहरु भुक्तानी गरि सकेको छ। एनसेलले आफूलाई देशकै ठूलो करदाताको सूचीमा अग्रणी स्थानमा राख्दै आएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै कानुन बमोजिम निर्धारित क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, वातावरण, प्राकृतिक विपदलगायतका क्षेत्रमा उल्लेखनिय योगदान गरेको छ र देशका दूर–दराजसम्म नेटवर्क विस्तार गरि एक करोड साठी लाख भन्दा धेरै जनतालाई दूरसञ्चार सेवा दिएको तथा प्रत्यक्ष अप्रत्यक्ष गरि २५,००० भन्दा बढी रोजगार सिर्जना गरि ‘हामी तपाईंकै लागि’भन्ने नारालाई सार्थकता दिदै आएको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।’
यसप्रकार देशकै सामाजिक, आर्थिक तथा सञ्चारको क्षेत्रमा अतुलनिय योगदान पुर्याउँदै आएको कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सिर्जना हुनेगरि बदनाम गर्न खोजिनु खेदपूर्ण रहेको ट्रेड युनियनको भनाई छ।
हालै भएको सेयर खरिद बिक्रीका सम्बन्धमा सरकारले छानबिन समिति गठन गरि सत्यतथ्य छानबिन प्रक्रिया अगाडी बढाई सकेको अवस्थामा पनि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल प्रचारबाजी हुनु छानबिन प्रतिवेदनलाईनै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको युनियनको दाबी छ।
‘आगामी वैशाखमा नेपाल सरकारले आयोजना गर्ने भनिएको लगानी सम्मेलनलाई नै असफल बनाउने उदेश्य राखी वैदेशिक लगानीलाई निरुत्साहित गर्ने प्रपञ्च प्रति सचेत हुँदै यसखालका तथ्यहीन भ्रम फैलाउने जो कोहीलाई कारबाहीको कठघरामा उभ्याउन यो ट्रेड युनियन नेपाल सरकारसँग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
Shares
प्रतिक्रिया