ad ad

कारोबार


सेयरबजारमा उछाल : अल्पकालीन कि दीर्घकालीन?

बैंकर भन्छन्– सेयर धितो कर्जामा अब ‘रिस्क’ छैन
सेयरबजारमा उछाल : अल्पकालीन कि दीर्घकालीन?

नेपालखबर
मंसिर २४, २०८० आइतबार १४:९, काठमाडौँ

मौद्रिक नीतिको तीन महिने समीक्षासँगै आइतबार खुलेको बजारमा सकारात्मक सर्किट लागेको छ। योसँगै आज (आइतबार) दिनभरका लागि कारोबार स्थगित भएको छ। 

कारोबार खुलेको पहिलो एक घण्टामा नेप्से ६ प्रतिशतले बढेपछि आइतबारको कारोबार रोकिएको हो। 

पहिलो ४ प्रतिशतको सर्किट लाग्दा कारोबार २० मिनेटको लागि स्थगित गरिएकोमा त्यसपछि पुनः ५ प्रतिशतले बढेसँगै ४० मिनेटको लागि सेयर कारोबार रोकिएको थियो। 

पुनः खुलेको बजार केही बेरमा ६ प्रतिशतले बढेर तेस्रो सर्किट लागेसँगै आज दिनभरको लागि कारोबार स्थगित भएको छ। 

बजार ६ प्रतिशतले बढेसँगै कारोबार दिनभरको लागि स्थगित भएको नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरी पराजुलीले बताए। 

उनका अनुसार साताको पहिलो दिन बजार ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्दा २० मिनेट, दोस्रो सर्किट (५ प्रतिशत)ले बढ्दा ४० मिनेट र तेस्रो सर्किटमा बजार ६ प्रतिशतले बढेपछि बजार दिनभरका लागि कारोबार स्थगन भएको हो। 

नेप्सेसँगै कारोबारमा आएका पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शुभम् पावर र कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

२५ कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ। बजारमा सर्किट लागेसँगै कारोबारमा आएका २२७ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको घटेको छ। एक कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ। 

सकारात्मक सर्किटको शृंखलापछि बजारमा ४८ करोड रुपैयाँको कारोबार भएको छ। 

बढेको बजारमा कारोबार घट्नु सकारात्मक मानिन्छ। बजारमा सर्किट लाग्दा समेत कारोबार घट्नुले आगामी कारोबार राम्रो हुने आकलन गर्न सकिन्छ। बजारमा सेयरको माग हुँदा बिक्रेता नहुनेले आगामी दिनमा बजार बढ्ने संकेत गर्छ। 

जब लगानीकर्ता मनोबल उच्च हुन्छ तब बजारमा माग बढ्ने र आपूर्ति घट्ने हुन्छ। यसले आगामी कारोबारको सुरुवातमा बजार माथि जाने सकेत देखाउँछ। 

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव देखिएको हो। 

समीक्षामा ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार घटाइएको छ। ५० लाख माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतलाई १२५ प्रतिशतमा झारिएको छ। 

जोखिमभार घट्नासाथ ५० लाख माथिको सेयरधितो कर्जा बढ्ने लगानीकर्ताको आकलन छ। 

साथै, समीक्षाले बैंकहरुको ब्याजदर घटाउने दबाब छ। बैंकहरुमा अधिक तरलता रहेको बेला ब्याजदर घट्दै जानु र कर्जाको जोखिम भार घटाउनु लगानीकर्ताले सकारात्मक रुपमा लिएको देखिन्छ। यद्यपि आज बजार १११ अंकले बढ्न सफल भयो। 

बैंकहरुले प्रिमियममा छुट दिएर कर्जा प्रवाह गर्न थालेको अवस्थामा घटेको जोखिम भारले लगानीकर्ताको मनोबल बढाएको छ।
लगानीकर्ताको मनोबल बढ्दा बजार खुलेको पहिलो घण्टामा १११ अंकको वृद्धि भएको छ।  

तर, लगानीकर्ताले सेयर धितो कर्जाको सीमा (क्याप) भने अझै कायम नै देखिन्छ। नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म लिन सक्छन्। 

जोखिम भार घट्दा त्यसले यस्तो कर्जा केही सहज त भयो तर, एक व्यक्तिले १५ करोडसम्म मात्रै कर्जा लिन सक्ने अवस्था छ। 

यस्तो अवस्थामा बजार घटेर तल्लो विन्दुमा रहेको हुँदा बैंकहरु सेयर धितो कर्जा बढाउन थालेको एक बैंकरले बताए। 

‘बजार १८/१९ सय विन्दुमा छ। लगानीकर्ताले यो विन्दुलाई तल्लो विन्दुको रुपमा हेरेका छन्’, ती बैंकरले नेपालखबरसँग भने, ‘बजार १८ सय तल जाने देखिँदैन। अब यस्तो कर्जा दिँदा धेरै रिस्क देखिँदैन।’

जोखिम नै नभएपछि बैंकहरुले सेयरधितो कर्जा सहज रुपमा दिन थालेको उनले बताए। 

‘पछिल्लो ६ महिनाको औसत मूल्यको ७० प्रतिशत भ्यालुएसन (मूल्यांकन) गरी कर्जा प्रवाह गर्दा रिस्क देखिँदैन’, उनले भने, ‘अझै बजार ३० प्रतिशत तल आउँदा सेयरमा गएको कर्जामा कुनै जोखिम छैन।’ 

मास साइकोलजी (आम मनोविज्ञान) ले बजारमा उछाल आएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट बताउँछन्। 

‘मौद्रिक नीतिको समीक्षामा सेयरबजारको लागि जोखिम भार घटाउनेबाहेक अन्य नीतिगत सुधार केही भएका छैनन्’, उनले भने, ‘मास साइकोलोजीले प्रोत्साहन गरेको छ।’

तर, सेयरबजार आफैँमा बढ्नुपर्ने गरी काम भएको नदेखिएको उनी बताउँछन्। 

उनका अनुसार पर्याप्त तरलता भएको र ब्याजदर घटिरहेको लगायतका कुराले बजारमा प्रभाव परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .