ad ad

कारोबार


वर्ल्ड इकोनोमिक फोरममा निर्वाणले गराए नेपालमा जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण

वर्ल्ड इकोनोमिक फोरममा निर्वाणले गराए नेपालमा जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण

नेपालखबर
माघ ५, २०८० शुक्रबार १७:२५, काठमाडौँ

चौधरी ग्रुपका प्रबन्धनिर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले नेपाल र नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। 

स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न वर्ल्ड इकोनोमिक फोरममा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले जलवायु परिवर्तनको नकारात्मक असर प्रतिदिन चुनौती बनिरहेको बताएका हुन्। 

जलवायु परिवर्तनको असरलाई न्युन गर्न विकसित मुलुकहरूको भूमिका अग्रणी रहने भएकाले साझा एजेण्डाका साथ सहकार्य गर्न पनि उनको सुझाव थियो। विश्वका महत्वपूर्ण एजेण्डामाथि छलफल गरिने उक्त फोरममा नेपालको निजी क्षेत्रकोतर्फबाट चौधरी ग्रुपका प्रबन्धनिर्देशक चौधरी एक्ला सहभागी थिए।  

फोरमअन्तर्गतको ‘अल्पाइन इकोनोमिज एट २सी’ सेसनमा बोल्दै युवा उद्यमी चौधरीले विश्वको औसत तापक्रममा वृद्धिको असर नेपाल जस्ता हिमाली र पर्वतीय मुलुकमा अझ बढी र छिटो देखापरेको हुँदा विश्वले जलवायु परिवर्तनलाई आजको मुख्य चुनौतीका रुपमा लिनुपर्नेमा पनि जोड दिए।

‘जलवायु परिवर्तनको प्रभाव हामीले दिनहुँ भोगिरहेका छौँ । काठमाडौंमा हुर्किएको मैले केहि वर्ष पहिलेसम्म उपत्यकाको उत्तरी भागमा वर्षैभरि सेताम्मे हिउँको दृश्यावलोकन गर्न पाउँथे। तर, अहिले जब म उत्तरतर्फ फर्किर हेर्छु मेरा आँखा बिझाउन थालेका छन्। मैले बाल्यकालमा देख्न पाएको हिउँ कम हुदै गएको छ। यसले मलाईं बेचैन बनाउँछ र भावी पुस्ताको भविष्य संझिएर चिन्तामा पार्ने गरेको छ’, चौधरीले विश्वको प्रतिष्ठित फोरममा  भने। 

उनले नेपाल जलवायु प्रभावको नराम्रो असरबाट गुज्रिन थालेको, हिमनदीको प्रवाह कम हुन थालेको र हिमाली क्षेत्रमा अत्यन्तै चिसो र तराई क्षेत्रमा अत्यन्तै गर्मीको असर भोग्न थालेको बताए। भविष्यमा कृषि, जलविद्युत्का लागि आवश्यक जलप्रवाहको कमी हुने मात्रै होइन नयाँ पुस्ताले पिउने पानीको समेत समस्या भोग्नुपर्ला भन्ने चिन्ता बढेको तर्फ विश्व समुदायको ध्याना आकृष्ट गराए। 

विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक र सांस्कृतिक नेताहरू उपस्थित यस फोरमका विभिन्न प्यानलमा बोल्दै चौधरीले जलवायु संकट न्यूनिकरणमा अन्तर्राष्ट्रिय सस्थाहरूको भूमिका महत्वपुर्ण रहनेमा ध्यानकर्षण गरे। 

यस्ता संस्थाहरुले पर्याप्त तथ्यांक,  ज्ञान, सूचना र सहयोग पाएमा जलवायु संकट न्यूनीकरणमा प्रभावकारी ढंगले लाग्न सक्ने बताउँदै उनले यसका लागी हिमाली समुदायहरूमा केन्द्रित सबै पक्ष समेटिएको जलवायु समस्या समाधान प्लेटफर्म बनाउन आवश्यक रहेको बताए। 

उक्त फोरमअन्तर्गतका अल्पाइन इकोनोमिज एट प्लस २सी, क्लाइमेट एक्सन र फ्यूचर अफ म्यानुफेक्चरिङ गरी तीन प्रमुख सेसनमा चौधरी सहभागी थिए। 

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी वर्ल्ड इकोनोमिक फोरममा सहभागी भएको करिब तीन दशकपछि उनका छोरा निर्वाण चौधरी उक्त फोरममा सहभागिता जनाएका हुन्। 

अध्यक्ष विनोद चौधरी सन् १९९५ मा उक्त फोरममा सहभागी थिए। उनलाई ‘ग्लोबल लिडर फर टुमारो’को उपाधि दिइएको थियो। सन् २०२१ मा वर्ल्ड इकोनोमिक फोरमले निर्वाणलाई ‘योङ ग्लोबल लिडर (वाईजीएल)’ का रुपमा मनोनीत गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .