ad ad

कारोबार


कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन : अर्थमन्त्री

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन : अर्थमन्त्री

आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका–४, सिक्रेस्थित स्याउरी भूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : हरिराम भेटुवाल/रासस


नेपालखबर
फागुन २०, २०८० आइतबार २०:२, त्रिशूली (नुवाकोट)

अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

देशमा रोजगारीका अवसरको सिर्जना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट  मुक्त हुनुपर्नेमा जोड दिए। 

नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले गाउँगाउँमा विकास र शैक्षिक गुणस्तरमार्फत युवा वर्गलाई रोजगारीमा केन्द्रित गराउने योजना तथा बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताए। 

‘गाउँगाउँमा उत्पादन बढाएर गाउँका सहरमा पुर्‍याउनुपर्छ’, उनले भने, ‘पूर्वाधारको विकास र प्राविधिक-आधुनिक शिक्षामार्फत नयाँ फड्को मार्ने प्रयासमा सरकार केन्द्रित छ।’

युवालाई आफ्नै गाउँमा टिकाउन रोजगारको सिर्जनाका लागि पूर्वाधार विकास र गुणस्तरीय शिक्षा नै पहिलो आधार भएकाले सोहीअनुसार सरकारले नयाँ–नयाँ योजना कार्यान्वयनमा ल्याएको अर्थमन्त्रीको भनाइ छ। 

‘अहिले विकासको रफ्तार सुरु भएको छ । गाउँगाउँमा सडक सहितको पूर्वाधारको विकास र कृषिको आधुनिकीकरण र यन्त्रिकरणबाट उब्जनीलाई बढावा दिँदै ती सामग्री सहरमा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘सडकसहित सिँचाइ, खानेपानीलगायत ग्रामीण पूर्वाधार विकासमा चालु आर्थिक वर्षदेखि सरकारले प्राथमिकता दिएकाले मुलुकमा विकासले नयाँ फड्को मार्ने चरणमा प्रवेश गरेको  छ।’

लामो समयसम्म शिथिल बनेको देशको अर्थतन्त्रमा सुधार हुँदै गएको तथा गाउँमै केही गर्न सकिन्छ भन्ने उद्यमी पनि रहेका दृष्टान्त प्रस्तुत गर्दै  अर्थमन्त्री  महतले भने, ‘सुधारिएको अर्थतन्त्रले रोजगारी र उद्यमी बढ्ने क्रममा छन्, पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षाको व्यवस्था गरेर सरकारले गाउँ केन्द्रित नयाँ कार्यक्रम सञ्चालनमा जोड दिइएको छ।’

‘कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन,’ उनले भने, ‘परिवार पाल्न र सन्ततिको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु।’

उनले व्यावसायिक कृषिमा लाग्न स्थानीय किसानलाई सुझाव पनि दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .