मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगन्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ। करिब २ करोड खर्चिएर मोटरबोट चलाउन लागिएको हो।
परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले वैशाखमा उद्घाटन गर्ने तयारी गरेको सञ्चालक विष्णु ढकालले बताए।
खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए।
वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ।
कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।
नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोट्र्स, फ्लोरिङ रेष्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए।
यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने तयारी गरेको छ।
Shares
प्रतिक्रिया