नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गरेका छन्।
बिहीवार काठमाडौंमा याडिया जि—६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेसन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिव ४ सय वटा फास्ट चार्जिङ स्टेसन राखिएको बताए।
घिसिङले भने, ‘वास्तवमा त्यो बेला कतै पनि चार्जिङ स्टेसन थिएन। हामीले प्रमोसनका लागि ५१ वटा फास्ट चार्जिङ स्टेसन, विद्युत प्राधिकरणले राखेको थियो। त्यसलाई थपेर देशभर विभिन्न ठाउँमा ६२ वटा बनायौँ। अहिले निजी क्षेत्र र विद्युत प्राधिकरण गरी करिव ४ सय वटा फास्ट चार्जिङ स्टेसन देशभर रहेका छन्।’
उनले एकै ठाउँमा चार्जिङ स्टेसनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरुले आग्रह गरिरहेको बताए। धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै संख्यामा चार्जिङ स्टेसन बनेको बताए।
उनले चार्जिङ स्टेसनमा गरिएको लगानी पट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने बताए। उनले प्राधिकरणले चार्जिङ स्टेसनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको बताए। उनले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताए।
घिसिङले भने, ‘कुनै ठाउँमा फास्ट चार्जिङ स्टेसन राख्ने लगानीकर्ताहरुले पोलिसी बनाइदिनुपर्छ, एकै ठाउँमा धेरै चार्जरहरु आयो, हाम्रो चार्जर फुल क्यापासिटीमा चल्नुपर्ने थियो, चलेन भन्नेसम्म भएको छ। यो धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म छ। म एउटा आह्वान के गर्न चाहन्छु भने सबै लगानी कर्तालाई फास्ट चार्जिङ स्टेसनमा सबैले लगानी गर्नुपर्छ। यो लगानी अर्को ठूलो लगानी हो। यो पेट्रोल पम्प भन्दा ठूलो लगानी यो फास्ट चार्जिङ स्टेसनमा आउनुपर्छ।’
उनले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको बताए। ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने बताए। याडिया जि—६ मा ३ किलोवाटको मोटर र २.७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ।
यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ। यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ। फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ। फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ।
फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन्। कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ। याडिया जि—६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ।
Shares
प्रतिक्रिया