ad ad

कारोबार


आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा जब च्याट जीपीटीले गर्‍यो मन्तव्यबाट स्वागत

आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा जब च्याट जीपीटीले गर्‍यो मन्तव्यबाट स्वागत

नेपालखबर
असार १, २०८१ शनिबार १४:५२, काठमाडौँ

राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ। 

डिजिटल मिडिया फाउन्डेसनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो।

आयोजक संस्था डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) निर्देशन दिए।

लगत्तै एआई प्लाटफर्म च्याट जीपीटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनसहित अतिथिहरुलाई  मन्तव्यमार्फत स्वागत गर्यो। मन्त्री पुनसहित हलमा सहभागीले नयाँ प्रयोगबाट उत्साहित हुँदै ताली बजाए।

त्यसलगत्तै एआईकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारियो। भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोता झैं लाग्ने टाई सुटमा ठाँटिएका एक युवक (कृत्रिम वौद्धिकता) सम्मेलनको आवश्यकता, एआईले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवाको प्रयोगलगायत विषयमा प्रकाश पारेका थिए। 

उक्त प्रयोगबारे कार्यक्रमका सहभागीले खुसी व्यक्त गरेका थिए। 

कार्यक्रमका वक्तासमेत रहेका आमसञ्चार एवं पत्रकारिताका प्राध्यापक डा. भानुभक्त आचार्यले उक्त प्रयोगले एआईले व्यक्तिको क्षमता अभिवृद्धि गरेर थोरै समयमा धेरै काम गर्न सकिने सन्देश दिएको बताए। 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले एआईको प्रयोगले तथ्य पहिचान, परीक्षण र प्रस्तुतिमा पत्रकारिता क्षेत्रले लाभ लिन सक्ने सम्भावना देखिएको उल्लेख गरे। तर, एआईको प्रयोगमा पत्रकारले हम्मेसा होसियारी अपनाउनुपर्ने उनको प्रतिक्रिया थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .