ad ad

कारोबार


अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयन योजना, असारमा हुने खर्च ६ महिनाअघि नै गर्न निर्देशन

अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयन योजना, असारमा हुने खर्च ६ महिनाअघि नै गर्न निर्देशन

नेपालखबर
असार ७, २०८१ शुक्रबार १५:७, काठमाडौँ

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउन सुरु गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरू र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका हुन्। 

मन्त्री पुनले कार्यान्यवन हुनसक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए। मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ्य उत्पादनसँग मेल खाने खालको भएकाले कार्यान्वयन सहज भएको बताए। 

‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं’, जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायनमा हुने हो’, उनले भने, ‘हामीले अहिले असारमा गरिरहेको खर्च ६ महिनाअघि गर्न पाएको भए दुई/तीनपटक बजारमा ‘सर्कुलेट’ हुन्थ्यो। त्यसबाट राजस्व संकलन हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो । हामी परम्परागत नहोऔँ, समयमै र छिटै काम गर्ने गरी योजना बनाऔँ।’ 

पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दसैँतिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन निर्देशन दिए। 

मन्त्री पुनले नयाँ आयोजनामा भन्दा चालू र ठूला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको चर्चा गरे। चालू आर्थिक वर्षको बजेटमा अवस्तुवादी राजस्व संकलनको लक्ष्य राखिएकाले लक्ष्यभन्दा धेरै काम राजस्व संकलन भएको उनको टिप्पणी थियो।

‘म अघिल्ला अर्थमन्त्री वा अरु कसैलाई आरोपित गर्न चाहन्न। कार्यान्वयन हुनै नसक्ने ४२ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य निर्धारण हुनुमा अर्थमन्त्री वा हाम्रो प्रणाली कसको दोष हो । त्यसको पनि समीक्षा हुनुपर्ला’, उनले भने। 

मन्त्री पुनले स्थानीयतहमा जाने समानीकरण रकम तत्काल निकाशा गर्न निर्देशन दिए ।

‘७ सय ५३ वटै स्थानीय तह बजेट ल्याउने अन्तिम तयारीमा छन् । समानीकरणको बजेट भरसक शतप्रतिशत नै पठाऔं । नभए पनि अघिल्लो वर्षको भन्दा बढी जाने व्यवस्था मिलाऔं’, मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिँदै भने । उनले कर्मचारीलाई उच्च मनोबल र आँटका साथ काम गर्न निर्देशन दिँदै कानूनसम्मत काम गर्दा नडराउन आग्रह गरे ।

मन्त्री वा मन्त्रीभन्दा माथिल्लो ओहोदाका कसैले कानूनबाहिर गएर काम गर्न निर्देशन दिए अवज्ञा गर्न उनको सुझाव थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .