ad ad

कारोबार


किसानले उत्पादन गरेका वस्तु राख्न ‘एक सहकारी एक गोदाम’ बनाउनुपर्ने माग

किसानले उत्पादन गरेका वस्तु राख्न ‘एक सहकारी एक गोदाम’ बनाउनुपर्ने माग

नेपालखबर
असार ९, २०८१ आइतबार १४:१८, काठमाडौँ

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन्। 

आइतबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड ः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो किसानहरुले उत्पादन गरेको वस्तुहरु राख्ने ठाउँ छैन। यसले गर्दा पनि उनीहरुले बिचौलियाहरुलाइ तुरुन्तै बिक्री गर्नु पर्ने बाध्यता रहेको छ।’ 

त्यस्तै उनले सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्ने उनले माग राखे। 

‘कृषि क्षेत्रमा बजारको पनि अभाव छ। सरकारले एक पालिका एक कृषि बजार बनाउनुपर्छ। यसो गर्न सकिएमा हाम्रा उत्पादनहरुले बजार खोज्दै भौँतारिनुपर्ने थिएन।’

सरकारले जबसम्म मल र स्तरीय बीउको व्यवस्था नगरेसम्म उत्पादन बढाउन नसकिने उनले बताए। 

‘हाम्रामा उत्पादन भएका वस्तुहरुको समर्थन मूल्य तोक्नका लागि ढिला गर्ने गरिएको छ । उत्पादनको समर्थन मूल्य बाली लगाउनु पहिले तोक्नु पर्छ । समर्थन मूल्य अगाडी नै तोकेमा किसानहरुले उत्पादन गर्न जोड दिन्छन्’, उनले भने।  

सहकारी मर्जरमा जानुपर्ने विषयमा उनले असन्तुष्टि जनाए। 

उनले भने, ‘एकातिर सहकारीलाई मर्जरमा लैजाने भनिएको छ। भएका सहकारीलाइ राम्रा बनाउनु पर्छ। किन मर्जरमा जोड दिनुपर्यो। संख्या घटाउँदैमा राम्रो हुन्छ भन्ने होइन । भएका सहकारीलाइ व्यवस्थित बनाउनुपर्छ।’ 

करिब दुई हजारको हाराहारीमा अहिले पनि साना किसान सहकारीहरुले स्थापना गरेको उद्योगहरुमा जागिरको रुपमा काम गरिरहेको उनले जानकारी दिए। आगामी दिनमा यस्तोे संख्या थप बढाउँदै लैनाने योजना रहेको उनले सुनाए। 

रोजगारी सिर्जनका लागि आगामी योजना सुनाउँदै उनले औपचारिक, अनौपचारिक, प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए। यसका साथै उनले कृषिमा डिजिटलाइजेसन र पारिवारिक खेती गर्ने किसानहरुको पहिचान र प्रर्वद्धन गर्न ध्यान दिनस पर्ने बताए। साथै सरकारले सहकारी क्षेत्रमा रोजगारी दिने जुन लक्ष्य लिएको छ यसमा सहकारीले सहयोग गर्ने उनले बताए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .