ad ad

कारोबार


कोसी प्रदेशमा घट्यो कृषि कर्जा, मोरङमा सबैभन्दा बढी सोलुखुम्बुमा कम

कोसी प्रदेशमा घट्यो कृषि कर्जा, मोरङमा सबैभन्दा बढी सोलुखुम्बुमा कम

नेपालखबर
असार ९, २०८१ आइतबार १७:४०, काठमाडौँ

कोसी प्रदेशमा कृषि कर्जा घटेको छ। गत आवको असार मसान्तको तुलनामा चालू आवको पुस मसान्तसम्म ६.१ प्रतिशतले कर्जा प्रवाह घटेको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६.१ प्रतिशतले कमी भई ५७ अर्ब ४३ करोडमा सीमित भएको छ। 

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा कोसी प्रदेशमा ५ खर्ब ३१ अर्ब बराबर कुल कर्जा प्रवाह भएकोमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १०.८ प्रतिशत छ।

२०८० असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १०.९७ प्रतिशत रहेको थियो। २०८० पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरुमा प्रवाहित कर्जा मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २८.५ प्रतिशत छ।

यसैगरी, २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १८ अर्ब २५ करोड (३१.८ प्रतिशत) र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम २८ करोड १३ लाख (०.५ प्रतिशत) रहेको छ।  

२०७९ पुस मसान्तको तुलनामा समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ०.८ प्रतिशतले घटेको छ भने सो अवधिमा जिल्लागत रुपमा खोटाङ जिल्लामा सबैभन्दा बढी २२.४ प्रतिशतले कृषि कर्जामा वृद्धि भएको छ। साथै, भोजपुर जिल्लामा सवैभन्दा बढी २५.२  प्रतिशतले कृषि कर्जा घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .