ad ad

कारोबार


आर्थिक संकटबाट गुज्रिरहेको सौर्यमाथि परेको वज्रपात- जहाज खस्यो, व्यवस्थापन ‘सेट’ नै गुम्यो

कम्पनीसँग अब उडान गर्न सक्ने एउटा जहाज त छ तर प्राविधिक र आर्थिक क्षमता छैन
आर्थिक संकटबाट गुज्रिरहेको सौर्यमाथि परेको वज्रपात- जहाज खस्यो, व्यवस्थापन ‘सेट’ नै गुम्यो

वसन्त अर्याल
साउन १०, २०८१ बिहिबार १९:३१, काठमाडौँ

सौर्य एयरलाइन्सको ९एन–एएमई/सीआरजे२०० विमान दुर्घटनाले आर्थिक रुपमा कम्पनीलाई थप कमजोर बनाएको छ।

आर्थिक संकटबाट गुज्रिरहेको एयरलाइन्सले जहाजसँगै जनशक्ति पनि गुमाएकाले तत्काल उठ्न अप्ठ्यारो देखिएको हो। 

सौर्य एयरलाइन्सले नेपाली आकाशमा एक दशक बिताइसकेको छ। एक जहाजबाट उडान सुरु गरेको कम्पनीले ३ वटा जहाज पुर्‍याए पनि २ वटाबाट मात्रै नियमित उडान गर्दै आएको थियो।

‘सौर्य एयरलाइन्सले नेपालमा ३ वटा जहाज भित्र्याएको छ। जसमा दुर्घटनाअघि २ जहाजबाट उडान गर्दै आएको थियो’, नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘अहिले दैनिक ६ वटा उडान गरिरहेको थियो।’

प्राधिकरणको उडान तालिकाअनुसार सौर्यले विराटनगर र चन्द्रगढीमा ३/३ उडान गरिरहेको थियो। दुर्घटनामा कम्पनीका ४ प्राविधिक क्षेत्र हेर्ने व्यवस्थापककै मृत्यु भएको छ।

दुर्घटनामा सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युइङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल र क्वालिटी एस्युअरेन्स प्रमुख दिलिप बर्माले ज्यान गुमाएका छन्। अपरेसन डाइरेक्टर क्याप्टेन मनिषरत्न शाक्य दुर्घटनामा परे पनि भाग्यले बाँचे। उनको उपचार भइरहेको छ।

‘प्राविधिक नै दुर्घटनामा परेकाले कम्पनी आफैँले उडान बन्द गरेको छ’, भुलले बिहीबार नेपालसँग भने, ‘चाडपर्वको समयमा कम्पनीले दैनिक १२ वटासम्म उडान गरेको थियो।’

विमानस्थलमा जहाजको नियमित चेकजाँच गर्ने कर्मचारी, कम्पनीको सुरक्षा योजना बनाउने प्रमुखहरु नै नरहेकाले कम्पनीले पुनर्जीवन पाउन धेरै समय कुर्नुपर्ने अवस्था रहेको प्राधिकरणका प्राविधिकहरु बताउँछन्। 

‘लिमा’ ग्राउन्डेड, ‘माइक’ क्षतविक्षत 
सन् २०१४ मा स्थापनासँगै पहिलो जहाजको रुपमा सौर्यले सीआरजे २०० सिरिजकै ९एन–एएलई अर्थात् ‘लिमा’ जहाजबाट उडान सुरु गरेको थियो। सोसँगै विराटनगरबाट माउन्टेन फ्लाइट र नियमित उडान गरेको थियो। 

सन् २०१५ मा भद्रपुरको चन्द्रगढी र नेपालगन्ज विमानस्थलमा नियमित उडान थालेको सौर्यले एक वर्षमै ९० हजार २०५ यात्रुलाई सेवा दिँदै सन् २०१७ मा नयाँ जहाज ९एन एएमई (माइक) थपेको थियो। 

नयाँ जहाज थप गरेसँगै भैरहवा र धनगढीमा उडान सुरु गरेको कम्पनीले फेरि सन् २०२० मा ९एन एएनएम कलसाइनको अर्को जहाज थप गरी ३ वटा पुर्‍याएको थियो।

त्यसपछि कम्पनीले सन् २०२१ बाट भैरहवा–विराटनगर–भैरहवा प्रादेशिक उडान गरेको थियो। सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै सौर्यले उडान सुरु गरे पनि नियमित गर्न सकेन। 

‘सौर्य एयरलाइन्सले भित्र्याएको पहिलो जहाज ९एन एएलआई लामो समयदेखि ग्राउन्डेड छ’, भुलले भने, ‘९एन एएमआई जहाज बुधबार दुर्घटनामा पर्‍यो।’

कम्पनीसँग अब ९एन एएनएम जहाज उडान गर्न सक्ने अवस्थामा छ। कम्पनीले उक्त जहाज उडान भर्नका लागि प्राविधिक नियुक्त गर्नुपर्ने अवस्था छ। तर कम्पनी अब आर्थिक भार थप्न सक्ने अवस्थामा छैन। 

पुरानो लगानी फिर्ता हुने अवस्था नरहेपछि कम्पनीले थप लगानी पनि गरेको थिएन।

सौर्य एयरलाइन्समा भारतको कुवेर ग्रुपको ४९ प्रतिशत सेयर स्वामित्व छ। ग्रुपले ५.६ मिलियन डलरमा ४९ प्रतिशत सेयर खरिद गरेको थियो।

विमानस्थलको बक्यौता भुक्तानी नगर्दा चार वर्षअघि करिब १० महिना उडान नै बन्द भएपछि कम्पनीले सन् २०२० मा कुवेर ग्रुपको लगानी भित्र्याएको थियो। सोही लगानीपछि बक्यौता तिरेर पुनः सञ्चालनमा आएको थियो। तर व्यावसायिक सफलता हासिल गर्न सकेन। 

सीआरजेले अपरेसन खर्च धानेन, एटीआर ल्याउन सकेन
नेपालमा आन्तरिक उडानका जहाजमा जेट र टर्बोप्रप इन्जिनयुक्त जहाज सञ्चालनमा छन्। 

सीआरजे जहाज जेट इन्जिन भएकाले अन्यको तुलनामा छिटो उड्न सक्छ। काठमाडौंबाट धनगढीमा जेट इन्जिन भएका विमानबाट ५० मिनेटमै पुगिन्छ। एटीआरले सोही गन्तव्यमा १ घण्टा १० मिनेटमा पुर्‍याउँछ।  

सीआरजे जहाजमा २ वटा इन्जिन हुन्छन्। एउटामा समस्यामा आए अर्कोले गन्तव्यमा पुग्न सकिन्छ। उक्त जहाजले उचाइ पनि छिटै लिन सक्छ। एटीआर जहाजको तुलनामा सीआरजे जहाजको इन्जिन पावरफुल हुन्छ। यसले इन्धन पनि बढी खपत हुन्छ। 

सामान्यतया २० हजार फिटसम्म बादल हुन्छ। यो जहाज ४१ हजार फिट उचाइसम्म उड्न सक्छ। नेपालभित्र २० देखि २५ हजार फिटको उचाइमा उडान गर्छ। धेरै उचाइमा वेग कम हुने भएकाले जहाज हल्लिने समस्या कम हुने मानिन्छ। यात्रुको सुविधाका हिसाबले सहज भए पनि यो जहाजमा सञ्चालन खर्च बढी हुन्छ। ५० सिटे जहाज चलाउँदा खर्च धान्न झनै अप्ठ्यारो पर्छ। 

नेपालमा श्री एयरलाइन्सले पनि जेट इन्जिनका सीआरजे २०० जहाज सञ्चालन गर्दै आएको छ। अहिले श्रीले ८० सिटे बम्बार्डियर क्यू४०० जहाज थपेको छ।

‘भाडादर एउटै भएकाले सीआरजे २०० सञ्चालनको खर्च अत्यधिक छ’, श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले भने, ‘हाम्रोमा ८० सिटे जहाज बढी भएकाले प्रतिस्पर्धा गर्न अलि सहज छ। ५० सिटे जहाजले एटीआरसँग प्रतिस्पर्धा गर्नै गाह्रो छ।’

१ वर्षअघि नै सौर्य एयरलाइन्सले सीआरजे २०० जहाज सञ्चालन गर्दा खर्च बढेको उल्लेख गर्दै ४० प्रतिशत कर्मचारी कटौती गरेको थियो।

कम्पनीले एटीआर जहाज ल्याउने योजना सार्वजनिक गरेको थियो। नेपालमा बुद्ध एयर र यति एयरले सञ्चालन गरेका एटीआर जहाज चलाउन खोजे पनि ल्याउन सकेन। भारतीय कम्पनी पनि थप लगानी गर्नबाट पछि हट्यो। 

करिब एक दर्जन व्यवसायीले संयुक्तरुपमा लगानी गरी २०७१ सालबाट कम्पनीको उडान थालेका थिए। सौर्य एयरलाइन्समा दीपक पोखरेल अध्यक्ष र गोपाल भट्टराई महाप्रबन्धक छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .