ad ad

कारोबार


लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्ने गरी काम गर्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्ने गरी काम गर्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

नेपालखबर
साउन १५, २०८१ मंगलबार १५:५३, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले राखेको लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार तालिम व्यवस्थापन विभाग खरिपाटीमा आयोजित ‘वृक्षरोपण कार्यक्रम’मा बोल्दै उनले सरकारले राखेको लक्ष्य समयअगावै पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।  

“१० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य सरकारले लिएको छ, १० वर्षभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने।  

ऊर्जामन्त्री खड्काले सरकारले २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले लक्ष्य र उद्देश्यलाई परिपूर्ति गर्नका लागि उच्च मनोबलका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए। पछिल्लो समय नेपालको विद्युत भारतमा निर्यात गर्ने क्षमता बढेको उनको भनाइ थियो। 

उनले नेपालको ऊर्जा क्षेत्रमा विभिन्न देशले लगानी गर्न इच्छुक रहे पनि कानूनी झण्झटका कारण लगानी गर्न समस्या भइरहेको भन्दै उक्त अफ्ठयारोलाई फुकाउनका लागि आवश्यक पर्ने ऐन, कानून संशोधनका लागि मन्त्रालयलले काम गर्ने बताए। 

मन्त्री खड्काले विभिन्न देशले ऊर्जा क्षेत्रमा गरेको प्रगतीलाई हेरेर नेपालले समेत आफ्नो देशलाई प्रगतीको पथमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे। उनले दुई ठूला पार्टी मिलेर अहिलेको सरकार बनेकाले यो सरकारलाई अल्मलिने छुट नरहेको उल्लेख गरे।  

उनले जलविद्युत परियोजना निर्माणका क्रममा भइरहेको वातावरणीय प्रभावलाई कम गर्नका लागि वृक्षारोपणजस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले रुख काट्ने मात्र होइन रोप्ने पनि हो भन्ने सन्देश दिन स्थापना दिवसका अवसरमा हरेक वर्ष वृक्षरोपण कार्यक्रम आयोजना गर्दै आएको बताए।

उनले प्रत्येक वर्ष प्राधिकरणको वार्षिकोत्सवका अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत २०० शाखा तथा उपशाखाबाट वृक्षरोपण गर्दै आएको जानकारी गराए।  

प्राधिकरणका उप–कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले जलविद्युत आयोजना निर्माण र प्रसारणलाइन विस्तारका क्रममा प्राधिकरणले सहमति लिएरै रुखहरु काट्ने गरेपनि त्यत्तिकै मात्रामा रुखहरु पनि रोप्दै गएको बताए।  

सोही अवसरमा ऊर्जामन्त्री खड्का, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतले तालिम व्यवस्थापन विभाग परिसरमा १०१ विभिन्न प्रजातीका विरुवा रोेपेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .