ad ad

कारोबार


लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ : नवराज अधिकारी

लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ : नवराज अधिकारी

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १०:५२, काठमाडौँ

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। 

उनले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको पनि बताए। 

निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ काठमाडौँमा आयोजित कार्यक्रममा उनले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नुका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताए। 
 

गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि पुँजी बजारलाई गतिशील तुल्याउने दाबी उनले गरे। उनले संस्थागत शेयर धितो कर्जामा अधिकतम सीमा खारेज हुनु सकारात्मक भएको तर्क गरे। 

संस्थागत शेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज भएको छ भने शेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ। 

कार्यक्रममा पूर्वमुख्यसचिव विमल कोइरालाले लगानीकर्तालाई लाभांश दिने, उनीहरूको विश्वास जित्ने, बजार विस्तार गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए। उनले धितोपत्र कारोबार प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताए।

निम्ब एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले पूँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरू देशको आर्थिक विकासका निम्ति क्रियाशील रहेको बताए।

उनले धितोपत्र बजार स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्तामैत्री बन्नुपर्नेमा जोड दिए। ‘देशको आर्थिक तथा सामाजिक विकासका लागि सार्वजनिक निष्काशनमार्फत पुँजी परिचालनलाई आफूले जोड दिएको बताउँदै उनले गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै राष्ट्रको समृद्धिमा योगदान गर्नु आफू नेतृत्वको संस्थाको उद्देश्य हो,’ उनले भने। 

छ जनाबाट प्रारम्भ गरिएको संस्थामा हाल एक सय ३० जना कार्यरत छन्। दुईसयभन्दा अधिक लगानीकर्ता संलग्न कम्पनीको पुँजी दश अर्ब पुगेको छ। 

आफ्नो संस्थाले स्वच्छ ऊर्जा, सूचना प्रविधि, सेवा, उत्पादन, कृषि, शिक्षा, औषधि उत्पादन र घरजग्गा कारोबारमा लगानी गरेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .