ad ad

कारोबार


अप्टिकल फाइबर काटिँदा अवरुद्ध भएको एनसेलको सेवा एक घण्टामै सुचारु

अप्टिकल फाइबर काटिँदा अवरुद्ध भएको एनसेलको सेवा एक घण्टामै सुचारु

नेपालखबर
साउन २९, २०८१ मंगलबार १५:१५, काठमाडौँ

सडक विस्तारको क्रममा दूरसञ्चार कम्पनीसँग समन्वय नगर्दा सेवा अवरुद्ध हुने गरेको छ।

सडकका पोल सार्ने समयमा फाइबरको लाइन काटिँदा सेवाग्राहीले दुःख पाउने गरेका हुन्। 

एनसेलले प्रदान गर्दै आएको दूरसञ्चार सेवाहरुमा सोमबार दिउँसो एकाएक समस्या आयो। यसले देशभरका लाखौँ प्रयोगकर्ता सेवाविहीन हुनपुगे।

दूरसञ्चारका सेवाग्राही सेवाविहीन भएको यो पहिलोपटक होइन। नेपाल टेलिकमको सेवा पनि बेला बेलामा समस्या आउने गरेको छ।

दूरसञ्चार सेवाप्रदायकका अनुसार अन्तर्राष्ट्रिय प्राविधिक कारणबाहेक सरकारी निकायबीच समन्वय नहुँदा फाइबार काटिएर सेवा अवरुद्ध हुने गरेका छन्। एनसेलका अवरुद्ध सेवा सुचारु हुनको लागि करिब एक घण्टा लागेको थियो। 

‘सोमबार दिउँसो अप्टिकल फाइबरहरु काटिएर अवरुद्ध भएका सेवाहरु हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयमा नै पूर्णरुपमा पुनः सञ्चालनमा ल्याउन सफल भएको जानकारी गराउन चाहन्छौँ। सेवा अवरुद्ध हुँदा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ’, एनसेलले आधिकारिक सूचना निकाल्दै भनेको छ।  

फाइबर चुडिँदा एनसेलका ग्राहकहरुले कल गर्न, डेटा सेवा चलाउन र एसएमएस पनि पठाउनसकेका थिएनन्।

‘नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा पोखरा–दमौली जोड्ने अप्टिकल फाइबर चुडिँदा समस्या आएको थियो’, एनसेलका एक अधिकारी भन्छन्, ‘विकल्पको रुपमा काम गर्ने फाइबर पनि सडकमा कलभर्ट बनाउने क्रममा चुडिएकोले सेवाहरु अवरुद्ध भए।’

अत्यावश्यक सेवा १ घण्टा अवरुद्ध हुँदा धेरैले विभिन्न समस्या भोगेका छन्।  तर यसको जिम्मेवारी लिन कोही पनि तयार छैनन्। 

नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदिप पौड्यालले १ घण्टासम्म दूरसञ्चार सेवा अवरुद्ध हुँदा गुणस्तरमा प्रश्न उठ्ने बताए। 

‘सोमबार कुन कारणले १ घण्टा बन्द भयो। ठ्याक्कै जानकारी आइपुगेको छैन’, पौडेल भन्छन्, ‘पोल सार्दा वा कुनै काम गर्दा पूर्वसमन्वय गरेरै काम गर्नुपर्छ। लामो समय सेवा अवरुद्ध गरेर कानुनी रुपमै पाइँदैन।’

युटिलिटी करिडोर नहुँदा समस्या 
नेपालमा युटिलिटी करिडोरको विषयमा बारम्बार छलफल भए पनि कार्यान्वयनमा आउनसकेको छैन।

सडकलाई आधार बनाएर विद्युत्, फाइबर, पानी, ढल निकासको व्यवस्था गरिएको हुन्छ। तर एउटा निकायले अर्को निकायसँग समन्वय नगर्दा सर्वसाधारण सेवाबाट वञ्चित हुने अवस्था छ। 

‘सडक खन्दा, पोल सार्दा के कस्तो असर पर्छ, सडकमा काम गर्दा के गर्न हुन्छ, के हुन्न भनेर कहिले सोचिँदैन’, दूरसञ्चार क्षेत्रमै काम गर्ने एक अधिकारी भन्छन्, ‘यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले कुनै समन्वयकारी भूमिका खेल्नसकेको छैन।’ 

समन्वयविना गरिने सडकका कामहरु, पोल सार्ने, ढल तथा खानेपानीको पाइप बनाउने जस्ता कार्यहरुले गर्दा दूरसञ्चारजस्तो अत्यावश्यक सेवा बेला बेलामा अवरुद्ध हुने गरेको छ। यसको दीर्घकालीन समाधान नखोजी हालसम्म टार्ने काम मात्रै भएको छ। 

सडक विभागले नागढुंगा–नौबीसे सडक विस्तारको क्रममा युटिलिटी करिडोर निर्माण गरिरहेको छ। काठमाडौंमा समेत युटिलिटी करिडोर बनाउन बजेटमै घोषणा भए पनि कसले कसरी बनाउने भन्ने टुंगिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .