ad ad

कारोबार


एक वर्षमा विदेशी लगानीकर्ताले लाभांशबापत नेपालबाट लगे करिब १७ अर्ब रुपैयाँ

एक वर्षमा विदेशी लगानीकर्ताले लाभांशबापत नेपालबाट लगे करिब १७ अर्ब रुपैयाँ

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १५:२४, काठमाडौँ

प्रत्यक्ष वैदेशिक लगानीबाट आर्थिक वर्ष २०७९/८० मा लगानीकर्ताले नेपालबाट लाभांशबापत १७ अर्ब ३३ करोड रुपैयाँ विदेश लगेका छन्। 

२ खर्ब ९५ अर्ब रुपैयाँ कुल लगानीबाट यो वर्ष लगानीकर्ताले १७ अर्ब रुपैयाँ लाभांश विदेश लगेका हुन्।

आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड र आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड रुपैयाँ लाभांशबापतको रकम विदेश गएको हो। पछिल्लो दुई वर्षमा वैदेशिक लगानीकर्ताले लैजाने लाभांशबापतको रकम उल्लेख्य घटेको हो। आव २०७७/७८ मा २६ अर्ब गएकोमा आव २०७९/८० मा १७ अर्बमात्रै लाभांश विदेश गएको हो।

वैदेशिक लगानीको आधारमा ठूलो हिस्सा ओगटेको इलेक्ट्रिक, ग्यास, स्टिम एन्ड एयर कन्डिसनिङ क्षेत्रमा ८८ अर्ब ६१ करोड रुपैयाँ लगानी भएको छ। सोबापत यो वर्ष १३ करोड रुपैयाँ मात्रै लाभांश विदेश गएको छ। 

यी क्षेत्रमा अघिल्ला वर्षहरु आव २०७८/७९ मा १ अर्ब ६७ करोड र आव २०७७/७८ मा ३ अर्ब ८१ करोड रुपैयाँ लाभांशबापतको रकम विदेश गएको थियो। पछिल्लो दुई वर्षमा यो क्षेत्रबाट पाउने लाभांश नराम्ररी खस्किएको हो। 

यस्तै ८६ अर्ब ७७ करोड लगानी रहेको उत्पादन क्षेत्रबाट भने यो वर्ष ८ अर्ब ८४ करोड रुपैयाँ लाभांशबापतको रकम विदेश गएको छ।

विदेशी लगानीकर्ताले सबैभन्दा धेरै यो क्षेत्रबाट लाभांश पाएका हुन्। आर्थिक वर्ष २०७८/७९ मा यो क्षेत्रबाट ७ अर्ब ३१ करोड रुपैयाँ र आव २०७७/७८ मा ६ अर्ब ७४ करोड रुपैयाँ लाभांश लगानीकर्ताले पाएका थिए। 

७६ अर्ब ७५ करोड रुपैयाँ लगानी वैदेशिक लगानी रहेको वित्त तथा बिमा कम्पनीहरुबाट भने यो वर्ष लगानीकर्ताले लाभांशबापत ३ अर्ब ५० करोड रुपैयाँ विदेश लगेका छन्। आव २०७८/७९ मा १ अर्ब ८ करोड र आव २०७७/७८ मा ८६ करोड रुपैयाँ लाभांशबापत लगेका थिए। 

सूचना तथा सञ्चार क्षेत्रमा गरेको १९ अर्ब ४१ करोड लगानीबाट यो वर्ष ३ अर्ब ६७ करोड रुपैयाँ लाभांश विदेश गएको छ। आव २०७८/७९ मा ५ अर्ब ४० करोड र आव २०७७/७८ मा १३ अर्ब ९८ करोड रुपैयाँ लाभांशबापत विदेश गएको थियो। 

योबाहेक आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा आवास क्षेत्रबाट १८ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेर यो वर्ष मात्रै २२ करोड रुपैयाँ लाभांशबापत  रकम विदेश लगेका छन् भने १ अर्ब ६९ करोड रुपैयाँ शिक्षा क्षेत्रमा लगानी गरेका विदेशी लगानीकर्ताले यो वर्ष लाभांश नपाएका हुन्। 

स्वास्थ्य तथा सामाजिक क्षेत्रबाट भने लगानीकर्ताले यस वर्ष २ करोड रुपैयाँ मात्रै लाभांश लगेका छन्। यो क्षेत्रमा आर्थिक वर्ष २०७९/८० सम्म १ अर्ब ७ करोड रुपैयाँ वैदेशिक लगानी छ। 

यस्तै निर्माण क्षेत्र र कृषि क्षेत्रमा पनि लगानीकर्ताले कुनै लाभांश पाएनन्। यो क्षेत्रमा क्रमशः ८५ करोड र ३० करोड रुपैयाँ वैदेशिक लगानी छ। 

योबाहेक अन्य क्षेत्रबाट ८ अर्ब ८९ करोड लगानी गरेर लगानीकर्ताले यो वर्ष १ अर्ब ११ करोड रुपैयाँ लाभांश विदेश लगेका हुन्। योबाहेक खानी तथा उत्खनन क्षेत्रबाट यो वर्ष लगानीकर्ताले लाभांश पाएका छैनन्। 

लाभांश फिर्ता (रु १० लाखमा)

क्षेत्र २०२०/२१ २०२१/२२ २०२२/२३
कृषि वन र मत्स्य - ३.० -
निर्माण - ५२.२ -
विद्युत् ग्यास स्टिम र एयर कन्डिसनिङ ३,८१६.२ १,६७८.१ १३०.१
उत्पादन ६,७४७.७ ७,३१५.५ ८,८४७.६
खनिज र उत्खनन - - -
आवास र खाद्य सेवा - १.९ २२.८
शिक्षा ३०३.० - -
वित्त तथा बिमा सेवा ८६८.३ १०८९.३ ३५००.०
मानव स्वास्थ्य र सामाजिक कार्य - - २.८
सूचना र सञ्चार १३,९८४.१ ५,४०२.८ ३,६७३.५
यातायात र भण्डार - २५.७ ४२.९
अन्य ३५७.३ १०६.६ १,११५.०
कुल २६,०७६.६ १५,६७५.२ १७,३३४.७
स्रोत : आव २०२२/२३ सम्मको लाभांश फिर्ताका लागि राष्ट्र बैंकले दिएको स्वीकृति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .