ad ad

कारोबार


सांसद विनोद चौधरीको पहलपछि सुस्तापारि नि:शुल्क बिजुली दिने ऊर्जामन्त्रीको घोषणा

सांसद विनोद चौधरीको पहलपछि सुस्तापारि नि:शुल्क बिजुली दिने ऊर्जामन्त्रीको घोषणा

नेपालखबर
असोज १०, २०८१ बिहिबार १७:१, सुस्ता

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि सरकारले सुस्तापारिका ३५० घरधूरीलाई नि:शुल्क बिजुली उपलब्ध गराउने भएको छ।

ऊर्जामन्त्री दीपक खड्काले सांसद चौधरीको मागअनुसार सुस्तापारिका घरधूरीलाई एक वर्षका लागि नि:शुल्क बिजुली दिने घोषणा गरेका हुन्। 

नारायणी नदीमा पुल बनेपछि सुस्तापारि पहिलोपटक बिजुली पुगेको हो। सांसद चौधरीले पुल निर्माण सम्पन्न भएसङ्गै ऊर्जामन्त्री खड्का र विद्युत प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङसँग सुस्तामा नि:शुल्क बिजुली उपलब्ध गराउन पहल गरेका थिए।

आज सुस्ता गाउँपालिका वडा ५ मा सुस्ता जोड्ने झोलुङ्गे पुल र विद्युत् सेवा शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले भने, ‘यस क्षेत्रबाट निर्वाचित माननीय विनोद चौधरीले यहाँका जनतालाई नि:शुल्क बिजुली उपलब्ध गराउन माग गर्नुभएको छ। म यहीँबाट एक वर्षका लागि नि:शुल्क बिजुली उपलब्ध गराउने घोषणा गर्दछु।’

प्रतिनिधिसभा सदस्य चौधरीले कार्यक्रममा नि:शुल्क बिजुली उपलब्ध गराउन ऊर्जामन्त्रीको ध्यानाकर्षण गराएका थिए।

‘यो क्षेत्रमा पहिलो पटक बिजुली पुगेको छ। यहाँका ३५० घरधूरीमा केही वर्षका लागि नि:शुल्क बिजुली सेवा उपलब्ध गराउन सरकारसँग माग गर्दछु’, उनले भने।

पुल शिलान्यास र बिजुली शुभारम्भ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, ऊर्जामन्त्री दीपक खड्का उपस्थित थिए। 

नारायणी नदीमा पुल निर्माण सम्पन्न भएसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो।

नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुुसी छन्।

‘यो पुल हाम्रा लागि लाइफलाइन हो’, सुस्ताका रविन्द्र जयसवालले भने, ‘निर्माण ढिलो भए पनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो। अब बाध्यताबाट हामी मुक्त भएका छौँ।’

२०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशुली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो। 

पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो। यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए।

उनले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .