ad ad

कारोबार


कोरोनाका कारण अमेरिकी सेयर बजारमा भुइँचालो

कोरोनाका कारण अमेरिकी सेयर बजारमा भुइँचालो

नेपालखबर
चैत ८, २०७६ शनिबार १२:४२,

कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो।

एसियाली सेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९०० अङ्कले घट्यो।

सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ। पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा सेयर सूचकांकमा लगातार गिरावट आएको छ।

ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोग सम्बन्धी घोषणाबाट एक दिन थामिएको सेयर बजारमा अरु दिन भुइँचालो नै गएको थियो। सन् २००८ को वित्तीय सङ्कटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो।

लगानीकर्ताहरु कोरोनाभाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन्। प्रकोप फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिहरुले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन्।

केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन् तर यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ। मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन्।

“कोरोनाभाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदैछ,” एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले बताइन्। यहीबीच, तेलको माग घटेपनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ। यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार सेयरको बिक्री एकाएक बढेको थियो।

क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिन पछि न्यूयोर्कले यो घोषणा गरेको थियो। न्यूयोर्क र क्यालिफोर्नियामा अब रेष्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन्।

यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ। अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलोपटक प्रति ब्यारेल २० डलर भन्दा तल पुगेको छ।

लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोनाभाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन्।

वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भने,“हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो। अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ।”

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ११ हजार ४०० भन्दा बढी पुगिसकेको छ। विश्वव्यापी रूपमा २ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। यीमध्ये करिब ९२ हजार मानिस निको भएका छन्।

अधिकांश व्यक्तिहरूमा कोरोनाभाइरसको हल्का वा मध्यम लक्षणहरू निम्त्याएको पाइन्छ, जस्तै ज्वरो र खोकी लाग्नु। तर हल्का बिरामी भएकाहरू करिब दुई हप्तामा निको भएको पाइएको छ।

विशेषगरी वृद्धहरू र पहिल्यैदेखि स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निमोनिया लगायतका गम्भीर अवस्था देखिन सक्छ र यस्तो परिस्थितिमा स्वास्थ्यलाभका लागि कम्तीमा छ हप्ता लाग्नेछ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .