ad ad

कारोबार


स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै

स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै

नेपालखबर
चैत ३०, २०७६ आइतबार ११:२७,

‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ। सडक विभागले सरकारले घोषणा गरेको ‘लकडाउन’को केही दिन पछिबाटै रोकिएका बिभिन्न आयोजनाको निर्माण अघि बढाउने भएको हो।

हालमा लागि झण्डै ६० देखि ६५ पुल आयोजना निर्माण अघि बढाउन लागिएको सडक विभागले जनाएको छ। काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा निर्माणाधीन सडकमा सामाजिक दूरी कायम गरी निर्माण अघि बढाउन लागिएको हो। काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा सवारी चापले गर्दा कठीन हुने स्थानमा अहिले मर्मत गरिने विभागका महानिर्देशक केशवकुमार शर्माले बताए।

उनले भने, ‘धेरै स्थानमा भिडभाड नहुने र आवश्यक स्वास्थ्य सावधानी अपनाएर निर्माण गर्न सकिन्छ।’

विभिन्न स्थानमा सडक र पुल निर्माण अघि बढाउन अनुमति माग्न विभागले कोरोना संक्रमण रोकथाम समितिलाई पत्र समेत लेखिसकेको छ। समितिले सम्बन्धित जिल्लाका प्रशासन कार्यालयलाई पत्र लेखेपछि काम गर्ने वातावरण बन्ने महानिर्देशक शर्माले बताए। थोरै आयोजनामा अहिले पनि सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको त्यहाँस्थित डिभिजन सडक कार्यालयले जानकारी दिएका छन्। ती स्थानमा एक मिटरको दूरी कायम राखेर माक्स र सेनेटाइजर प्रयोग गरेर मजदुर निर्माणमा खटिएको महानिर्देशक शर्माले बताए। उनले भने, ‘कुनै साइटमा स्वास्थ्यकर्मीसमेत राखेर काम भइरहेको जानकारी आएको छ।’

आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’को अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र केही योजना सम्पन्न गराउन निर्माण अघि बढाउन लागिएको हो। त्रिभुवन राजमार्ग र कोशी राजमार्गमा सडक निर्माण अघि बढाइने भएको छ। त्यससँगै, झापा, सङ्खुवासभा, कैलाली, मकवानपुर, मुगु, जुम्लालगायत जिल्लामा पनि निर्माण शुरु हुने उनले जानकारी दिए। उनले भने, ‘निर्माण त्यसै छाड्दा नोक्सान हुने स्थानलाई छनोट गरिएर काम अघि बढाउन लागिएको हो।’

देशभरमा हाल संघीय सरकारले निर्माण गरिरहेकै एक कहजारभन्दा बढी पुल भएपनि त्यसमा अहिले ६०÷६५ पुल मात्रै छनोट गरिएको छ। तीमध्ये अधिकांशमा थोरै मात्रै काम बाँकी छ। ती योजनामा दुईचार दिन काम हुँदा सम्पन्न हुने महानिर्देशक शर्माले बताए। त्यस्तै, निर्माण व्यवसायीले पनि ती योजनामा काम गर्न सकिने बताएका छन्। उनले भने, ‘समितिबाट अनुमति आएपछि नै काम अघि बढाइनेछ।’

‘लकडाउन’ घोषणा पहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मर्मत भइरहेको थियो। त्यस्तो मर्मतका लागि कम जनशक्ति भए पुग्ने हुँदा अहिले पनि निरन्तरता दिन सकिने महानिर्देशक शर्माले बताए। एउटा गाडि र एक जना चालक र थोरै संख्यामा अरु कामदार भएपछि मर्मत कार्य गर्न सकिने उनले जानकारी दिए। उपत्यका बाहिरिने मुख्य नाका नौबिसेमा काठमाडौं जिल्लापट्टिको काम सम्पन्न भइसकेको छ। खानेपाइपका कारण निर्माणमा कठीनाई आइरहेको गौशाला–चावहिल सडकसमेतमा निर्माण ‘लकडाउन’का कारण ठप्प छ। यी सडकमा चाँडै निर्माण अघि बढाउन सकिने महानिर्देशक शर्माले बताए। उनले भने, ‘सवारी चाप नभएको समयमा निर्माण गर्न सहज पनि छ।’

नेपाल निर्माण व्यवसायी महासंघले गत साता नै प्रेस विज्ञप्तीमार्फत सरकारलाई निर्माण अघि बढाउन वातावरण बनाउन अनुरोध गरेको थियो। महासंघका महासचिव रोशन दाहालले कुनै स्थानमा फर्मा ठोकेको त कतै खाल्डा खनेको गरी निर्माण अलपत्र अवस्थामा रहेको बताए। वर्षा शुरु हुनु पहिले ती काम सम्पन्न नगर्दा त्यो क्षति हुने उनले बताए। महासंघले वर्षामा क्षति पुग्ने पुल र नदी नियन्त्रणका काम अघि बढाउन सहजीकरण गर्न सरकारलाई अनुरोध गरेको हो। अधिकांश आयोजना मजदुर निर्माणस्थल मै रहेकाले काम गर्न सकिने उनले बताए। निर्माणस्थलमा रहेका मजदुरलाई निर्माण व्यवसायीले खाने बस्ने प्रवन्ध गरिरहेको उनको दाबी छ। उनले भने, ‘काम गर्न एक दुई जना प्राविधिक जनशक्ति चाहिएपनि ठूलो संख्यामा मजदुर निर्माणस्थलमै छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .