विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट खाडी मुलुकहरु अन्यको तुलनामा कम प्रभावित छन्। भाइरसको संक्रमण कम भए पनि विश्वमै आर्थिक गतिविधि नहुँदा ती देशको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ।
खाडी मुलुकलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रमुख वस्तु तेल हो। अहिले ती देशको तेल निर्यात ठप्पप्रायः हुँदा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य नकारात्मक बन्नपुगेको छ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वकै सबैभन्दा धेरै तेल खपत गर्ने देशहरु चीन, अमेरिका, भारत, युरोपसहितका अधिकांश मुलुकमा आर्थिक गतिविधि ठप्प छ। उनीहरुले आफ्ना कलकारखाना बन्द गरेर सहरहरु लकडाउन गरेका छन्।
खाडी मुलुक र अमेरिकी तेल निर्यात हुन नसकेपछि इतिहासमै पहिलोपटक अमेरिकी बजारमा कच्चा तेलको मूल्य नकारात्मक भएको छ।
वेष्ट टेक्सास इन्टरमेडिएट (डब्लुटीआई) भनिने तेलको मूल्य सूचकाङ्क गएको हप्ता –(माइनस)४० डलरसम्म झरेको थियो।
‘मूल्य नकारात्मक हुनु भनेको तेल क्रेता वा प्रशोधनकर्ताको तेल भण्डारण गर्ने क्षमता नहुनु हो’, अर्थविद् विशाल चालिसेले नेपालखबरसँग भने, ‘यसको अर्थ अहिले भण्डारण गर्नको लागि मात्रै भए पनि तेल बिक्रेताले उल्टै पैसा तिर्नुपर्ने अवस्था हो।’
यस्तो अवस्था आउनुको मुख्य कारण कोरोना महामारी हो। जसले तेलको मागमा भारी ह्रास आएको छ तर तेल उत्पादकहरुले कच्चा तेल उत्पादन जारी राखेका छन्। उत्पादन दरमा कमी आए पनि बजारमा माग नहुँदा भण्डारण क्षमताभन्दा बढी तेलको भौतिक मौज्दात रहन गएकोले मूल्य ऋणात्मक भएको उनको भनाइ छ।
नेपाललाई पर्ने असर
विश्व बजारमा तेलको मूल्य नकारात्मक हुँदा नेपालको लागि सकारात्मक र नकारात्मक दुवै असर पर्ने अर्थशास्त्रीहरु बताउँछन्।
नकारात्मक पक्ष भनेको खाडी मुलुकमा रहेका नेपालीले रोजगारी गुमाउने र रेमिट्यान्समा कमी आउने हुनसक्ने उनीहरुको विश्लेषण छ।
‘नेपालजस्तो रेमिट्यान्समा भरपर्ने देशलाई यसले प्रतिकूल प्रभाव पार्छ’, अर्का अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘खाडीका श्रमिकले रोजगारी गुमाउने सम्भावना धेरै छ।’
भारत हुँदै नेपालमा आउने र चीनलगायतका देशले प्रयोग गर्ने तेल सबै खाडी मुलुकबाट आउँछ। खाडी मुलुकले तेल निर्यात गर्न नसकेपछि उनीहरुको राजस्वमा ठूला धक्का लाग्नेछ।
‘तेलको राजस्व घटेपछि उनीहरु समस्यामा पर्न सक्छन्’, आचार्यले भने, ‘साउदी अरबमा कुल निर्यातको ८५ प्रतिशत तेल निर्यातबाट आउँछ भने जीडीपीमा आधाभन्दा धेरै योगदान तेलबाट नै हुन्छ।’
साउदी अरब, दुवई, कतार, बहराइन, कुवेतजस्ता खाडी मुलुकमा नेपालका लाखौँ श्रमिक छन्। हरेक वर्ष नयाँ श्रमिकको लागि गन्तव्यस्थल पनि तिनै मुलुक हुन्। ती मुलुकमा हुने धेरै विकास निर्माणका काम तेलबाट आउने राजस्वमा आधारित छ।
‘अब उनीहरुका विकास निर्माणका कामहरु कम हुन्छन्’, आचार्यको अनुमान छ, ‘यसले नेपाल, भारत, बंगलादेश, श्रीलंकाबाट जाने श्रमिकहरु घट्छन्।’
कोरोना संकटपछि पनि विश्वको अर्थतन्त्र पुरानै लयमा फर्किन धेरै समय लाग्ने अर्थशास्त्रीहरुको विश्लेषण छ। आचार्यका अनुसार संकट समाधान भइसकेपछि खाडी मुलुकहरुले तुरुन्तै तेलको मूल्य बढाउनसक्ने स्थिति हुँदैन।
खाडी मुलुकले तेलको मूल्य बढाउन थाले भने अमेरिकी र क्यानेडियन तेलको वर्चस्व विश्वबजारमा बढ्ने उनको भनाइ छ।
नेपाली श्रमिकको माग खाडी मुलुकमा घट्दै जाँदा यसले रेमिट्यान्समा असर गर्छ। नेपालले वार्षिक झण्डै ९ खर्बको रेमिट्यान्स ल्याउँछ।
खाडी मुलुकमा रोजगारी गुम्दा र नयाँ रोजगारीका अवसर नहुँदा नेपालमा आउने रेमिट्यान्समा ठूला असर गर्ने अनुमान गरिएको छ।
‘घट्दो तेलको मूल्यको अप्रत्यक्ष असर विप्रेषणमा पर्ने देखिन्छ’, चालिसेले भने, ‘नेपाली कामदार जाने मध्यपूर्वका देशहरूको अर्थतन्त्र तेलमा निर्भर रहेकाले मूल्यमा आएको गिरावटले नकारात्मक असर पर्छ।’
उनीहरूले गर्ने नयाँ लगानीमा ह्रास आउने र यसले गर्दा नयाँ कामदारको मागमा वा अहिलेको काममा कमी आउनसक्ने चालिसेको विश्लेषण छ।
खाडी मुलुकमा अन्य देशभन्दा नेपाली श्रमिक बढी भएकाले रोजगारीमा ठूलो असर हुने आप्रवास विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव बस्यालले बताए।
अहिले नै कति प्रभाव पर्छ भन्न नसकिने भए पनि अहिलेकै अवस्थामा पनि नेपाली श्रमिकलाई असर पर्ने बस्यालको बुझाइ छ।
‘खाडी मुलुक पनि पर्ख र हेरको अवस्थामा छन्’, बस्यालले नेपालखबरसँग भने, ‘उनीहरुले आगामी दिनमा श्रमिक कटौती गर्न सक्छन्।’ आप्रवास श्रमिकहरुले एक ठाउँमा समस्या भएमा अर्को ठाउँमा विकल्प खोज्छन् तर अहिलेको यस्तो अवस्था छ विकल्प खोज्ने ठाउँ पनि छैन।
संसारका सबै देशहरु एउटै खाले समस्यामा गुज्रिरहेकोले नेपालीसँग एउटा मात्र विकल्प भनेको स्वदेश फर्किनु भएको बस्याल बताउँछन्।
सकारात्मक पक्ष
विश्व बजारमा तेलको मूल्य घट्दा नेपालमा दुई पक्षमा सकारात्मक असर पर्ने विज्ञहरुको भनाइ छ।
चालिसेका अनुसार आयातको मूल्यमा सकारात्मक असर पार्छ। नेपालमा वर्षेनी अर्बौंको तेल आयात हुन्छ। विश्व बजारमा जति तेलको मूल्य बढ्यो धेरै पैसा तिर्नुपर्ने हुन्छ। तेल घट्दा कम मूल्यमा ल्याउन पाइने भयो।
अर्को असर भनेको मुद्रास्फीतिको दरमा सकारात्मक दबाब हो। हामीले उपभोग गर्ने गैरखाद्य वस्तुहरूमा प्रमुखमध्ये तेल एक भएकोले घट्दो मूल्यले मुद्रास्फीतिलाई तोकिएको सीमाभित्र राख्न आर्थिक नीति निर्माताहरूलाई सहज हुने चालिसेको भनाइ छ।
नेपालमा मूल्य घट्दैन
विश्व बजारमा तेलको मूल्य नकारात्मक भए पनि नेपालमा त्यस किसिमले मूल्य भने घट्नेछैन। नेपालको तेलको मूल्य भारतसँग जोडिएको छ।
उसले तोकेको तेलको मूल्यसँग नेपालको मूल्य भर पर्छ। भारतले महिनाको एक पटक तेलको मूल्य समायोजन गर्छ।
विश्व बजारमा तेलको मूल्य घटिरहेको बेला भारतले अन्तःशुल्क बढाएर मूल्य घट्न नदिएको आचार्य बताउँछन्।
‘मूल्य घटेपछि भारतले अन्तःशुल्क बढाइदियो। जसले गदो तेलको भाउ घट्न पाएन’, उनले भने, ‘यसले गर्दा नेपालमा पनि घट्ने अवस्था रहँदैन।’
चालिसेका अनुसार विश्व बजारमा तेलको मूल्य नकारात्मक हुनुको अर्थ अहिले नै रक्सौललगायतका नाकाबाट आउने तेलको मूल्यमा तुरुन्तै घट्ने होइन।
‘यसै पनि कच्चा तेलको मूल्य जतिले घट्यो त्योभन्दा कमले मात्र प्रशोधित तेल (हामीले प्रयोग गर्न मिल्ने)को मूल्य घट्छ,’ चालिसेले भने, ‘तर, मूल्यको सामान्य दिशा घट्दो क्रममा रहेको पक्कै हो।’
Shares
प्रतिक्रिया