ad ad

कारोबार


पर्यटन पुनरुत्थान गर्न पर्यटनमन्त्री भट्टराईलाई चेम्बरले दियो १८ बुँदे सुझाव

पर्यटन पुनरुत्थान गर्न पर्यटनमन्त्री भट्टराईलाई चेम्बरले दियो १८ बुँदे सुझाव

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ९:५४,

नेपाल चेम्बर अफ कमर्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोनाभाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे आफ्नो सुझाव पेस गरेको छ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटनमन्त्री भट्टराईलाई बुझाएको सुझावमा पर्यटन, हवाइ र विविध क्षेत्र समावेश छन्। सुझावमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, राहत प्याकेज ल्याउनुपर्ने, सेप्टेम्बर अक्टोवर सिजनमा पर्यटक भित्र्याउने गरी काम थाल्नुपर्नेलगायतका विषय समावेश छन्।

यी हुन् चेम्बरका १८ सुझाव
पर्यटनतर्फ 
१.आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुनेबित्तिकै अघि बढाउनुपर्ने, सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आमनागरिकहरुलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्नुपर्ने र निजी क्षेत्रलाई पनि प्याकेजहरुमार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेे वातावरण बनाउनुपर्ने।

२. हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न सहरबाट पर्यटक भित्र्याउनेतर्फ सरकारीस्तरमै पहल गरिनुपर्ने।

३. नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरुले चीनको विभिन्न सहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्राउनेतर्फ पहल गरिनुपर्ने ।

४. पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि कस्ट टु कस्ट बेसिसमा होटल लगायत अन्य पर्यटकीय सुबिधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनुपर्ने।

५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखी अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने। हवाइजहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेक इनकाउन्टर, संग्रहालय, ¥याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्तीसफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमानियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने।

६. सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनुपर्ने। ऋण, ऋणको ग्यारेण्टी, कर्पोरेट बन्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनुपर्ने। करछुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नुपर्ने।

७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने। यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्यनिकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाई कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने।

८. कोरोनाभाइरसको प्रकोपको कारण पूर्वीय संस्कृतिवारे खास गरेर योगलगायतका सम्वन्धमा पश्चिमी मुलुकमा धेरै नै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुंदा यसको प्रवद्र्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनुपर्ने।

९. मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजमलगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउने ।

हवाइ सेवातर्फ 
१.आईकाओ तथा अन्य मुलुकका हवाइ सेवाप्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सोबारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाई समेत सञ्चालन गर्न पाइला चाल्नुपर्ने ।

२. पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्छ। राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौन्दर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ । निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहनमूलक प्याकेज ल्याउन सकिने ।

३. हवाइ उड्डयनतर्फ ऋण दिन वित्तीय संस्था हिच्किचाउने हुँदा ऋण, ऋणको ग्यारेण्टी, कर्पोरेट बन्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनुपर्ने । कर छुट लगायत वित्तीय सहयोग प्रदान गर्नुपर्ने। साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनुपर्ने ।

४. अहिलेको विषम परिस्थितिमा हवाइयात्रुहरुको डिपार्चर अगाडि अनिवार्य रुपमा कोरोना परीक्षण गरिएको हुनुपर्ने ।

५.हाल सीमित पार्टपुर्जामा मात्र दिइँदै आइएको मू.अ.क. छुट वायुयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने ।

६. देशमा पुनर्बीमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई बीमामा लगाउँदै आइएको मू.अ.क. र अग्रिम कर छुट हुनुपर्ने । साथै हालको परिस्थितिमा कम्तीमा ग्राउन्डेड जहाजको बीमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्बीमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने ।

७. नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद
धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने ।

८. नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ल्यान्डिंग, पार्किंग, नेभिगेसन, काउन्टर रेन्टलगायत विविध नवीकरण शुल्क ग्राउन्डेड जहाजको ग्राउन्डेड अवधिभर शून्य र अन्यको आन्तरिक हवाइ सेवा स्थगित रहेको अवधिभरलाई मिनाहा गर्नुपर्ने ।

विविध
१. राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचीमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .