ad ad

कारोबार


भौतिकको बजेट ८० अर्बदेखि १ खर्बको बीचमा, सांसदको सडक बजेट कटौती हुने

भौतिकको बजेट ८० अर्बदेखि १ खर्बको बीचमा, सांसदको सडक बजेट कटौती हुने

वसन्त अर्याल
बैशाख २३, २०७७ मंगलबार ९:२०,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७७/०७८ को बजेट ह्वात्तै घट्ने भएको छ। विश्व महामारी कोरोना भाइरसको कारण मन्त्रालयको बजेट चालू आवभन्दा कम हुने भएको हो।

बजेट कम आउने भएसँगै नयाँ योजना त आउनेछैनन् नै, चालू आयोजनामा पनि बजेट कम हुने निश्चित छ।

कोरोनाको प्रभावले सरकारले राजस्व बढी उठाउन नसक्ने र बाह्य ऋण तथा अनुदान पनि ल्याउन गाह्रो हुने भन्दै मन्त्रालयलाई बजेट आकार सानो पठाएको छ।

‘मन्त्रालयमा १ खर्बको बजेट सिलिङ आएको थियो’, भौतिक पूर्वाधार मन्त्रालय स्रोतले भन्यो, ‘अहिले १ खर्बमा पनि २० प्रतिशत कम गरेर योजना तयार पार्नु भन्ने निर्देशन आएको छ।’

मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा ८० अर्बदेखि १ खर्बको बीचमा बजेट आउने अनुमानका साथ बजेट छलफल अघि बढाइरहेको छ।

गत आर्थिक वर्ष २०७६/०७७ को कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयलाई मात्रै १ खर्ब ५६ अर्ब बजेट छुट्याइएको थियो। यसमा ८३ अर्ब नेपाल सरकार, ७ अर्ब अनुदान र ६५ अर्ब ऋण जुटाउने गरी विनियोजन गरिएको थियो।

निर्वाचन क्षेत्र रणनीतिक सडकको पनि बजेट कटौती हुने
पहुँचवाला सांसदहरुले भौतिक पूर्वाधार मन्त्रालयमार्फत रणनीतिक सडकको नाममा बजेट लगी खर्च गर्दै आएका छन्। मन्त्रालयमा वसन्त नेम्वाङ आएपछि पहुँचवाला नभई सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक बनाउने योजना अघि सारेका थिए।

‘रघुवीर महासेठ हुँदा नै केही सांसदले रणनीतिक सडकको नाममा बजेट लगेका रहेछन्’, मन्त्रालय स्रोतले नेपालखबरसँग भन्यो, ‘वसन्त नेम्वाङ आएपछि सबै निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक बनाउने भन्दै सांसदसँग प्रस्ताव पेश गरेका थिए।’

केही सांसदले भौतिक पूर्वाधार मन्त्रालयबाट रणनीतिक सडकका लागि बजेट लगेर खर्च गरिसकेका छन् भने केहीले भर्खर सडकका योजना मन्त्रालयमा पेश गरेका छन्।

मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि १० करोड बजेट दिने योजना अघि सारेको थियो।

‘१० करोड दिने योजनाका साथ रणनीतिक सडक चयन भएका थिए। कोरोनाको कारण बजेट कटौती गरी ६ करोड दिने कि भन्ने विषयमा छलफल भइरहेको छ’, मन्त्रालय स्रोतले भन्यो।

‘सुरुङमार्ग र फ्लाई ओभरका काम अघि बढ्छन्’
यसैबीच, सुरुङमार्ग र फ्लाई ओभरका काम भने नरोकिने भएको छ। सडक विभागका महानिर्देशक केशव कुमार शर्माले नयाँ शीर्षकमा बजेट आउने सम्भावना कम भए पनि भर्खर सुरु भएका सुरुङमार्ग र फ्लाई ओभरका काम अघि बढ्ने बताए।

‘बजेट घटेर आउने कुरा छ। नयाँ आयोजनाको प्रस्ताव त गरेका छैनौं’, महानिर्देशक शर्माले भने, ‘पुरानो नै भए पनि भर्खर सुरु भएका सुरङमार्गका कामलाई अघि बढाउने कुरा भएको छ।’

भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङले मन्त्रालयमा कार्यभार सम्हालेको ३ महिनामा नेपालखबरसँग कुरा गर्दै चालू आर्थिक वर्षमा कम्तीमा एउटा फ्लाई ओभर निर्माण सुरु गर्ने दाबी गरेका थिए।

तर अहिलेसम्म कुनै फ्लाई ओभरको काम सुरु हुनसकेको छैन। यद्यपि आगामी आर्थिक वर्षमा डिजाइनको काम सकी निर्माण कार्य थाल्ने मन्त्रालयको योजना छ।

‘फ्लाई ओभर डिजाइनको काम भइरहेको छ। सकेसम्म आगामी आर्थिक वर्षमा काम गर्ने गरी अघि बढिरहेका छौँ’, महानिर्देशक शर्माले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .