ad ad

कारोबार


केमा व्यस्त छ नेपालको २ करोड ७ लाख सक्रिय जनशक्ति?

केमा व्यस्त छ नेपालको २ करोड ७ लाख सक्रिय जनशक्ति?

वसन्त अर्याल
जेठ ७, २०७७ बुधबार ११:६,

कुनै पनि देशको सक्रिय जनशक्ति भनेको त्यो देश समृद्ध बनाउने औजार हो। सामान्यतया १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहलाई सक्रिय जनशक्तिको रुपमा परिभाषित गरिन्छ।

१५ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धको रुपमा लिइन्छ। तर पनि यो उमेर समूहले आफ्नो जीविकोपार्जन तथा परिवारको सहयोगका लागि केही न केही गरिरहेको देखिन्छ।

नेपालमा वार्षिक करिब ५ लाख युवा बजारमा आउने गरेको तथ्यांकले देखाउँछ। एउटा हिस्सा २८/३० वर्षसम्म पढिरहेका हुन्छन्। जुन कुनै व्यवसाय वा आविष्कारभन्दा सर्टिफिकेटमा बढी केन्द्रित हुन्छ। सरकारी जागिरको लागि वर्षौँसम्म परीक्षा दिइरहने धेरै छन्।

अर्को ठूलो युवाशक्ति विदेश जाने गर्छ। विदेश जानेमा पनि दुईथरि छन्। एकथरि आफ्नो गुजारा टार्न बाध्यतावश मजदुरी गर्न खाडी मुलुक जाने गरेका छन्।

पछिल्लो समय युरोपको केही देशसँगै कोरिया, जापानमा कामको लागि जाने गरेका छन्। नेपालमा मास्टर्स गरेका जापान, कोरियालगायतका देशमा सामान्य काम गर्न जान मरिहत्ते गर्ने धेरै छन्। अध्ययनको लागि विदेश जाने र सकेसम्म उतैको नागरिकता लिएर बस्ने जमात पनि ठूलो छ।

नेपालमै केही गरौं भन्ने युवा सानो संख्यामा छन्। व्यवसाय गर्नको लागि स्वपुँजी नभएको, स्नातक तथा स्नातकोत्तर सर्टिफिकेट नेपालमै रोजगारी प्राप्तिमा काम नलागेको भन्ने धेरै छन्।

तथ्यांक विभागले सन् २०१७/१८ मा गरेको श्रम सर्वेक्षणअनुसार २ करोड ९० लाख जनसंख्यामध्ये काम गर्ने (सक्रिय समूह) २ करोड ७ लाख छ। त्यसमा ७१ लाख मानिसले नेपालमा रोजगारी पाएका छन् भने ९ लाख मानिस बेरोजगार रहेको उल्लेख छ। बेरोजगारमा महिलाको संख्या धेरै रहेको सर्वेक्षणबाट देखिएको छ।

उक्त तथ्यांकअनुसार प्रत्येक ५ जनामध्ये १ जनाले मात्रै रोजगारी पाउने गरेका छन्। औद्योगिक क्षेत्रका आधारमा कृषि क्षेत्रमा सबैभन्दा बढी २१ प्रतिशतले रोजगारी पाएका छन्। व्यापार क्षेत्रमा १७, उत्पादनमा १५.१ र निर्माण क्षेत्रमा १३.८ प्रतिशतले रोजगारी पाएका छन्।

सर्वेक्षणअनुसार पेशाका आधारमा व्यवस्थापक १.२, डाक्टर, प्रोफेसरलगायत व्यावसायिक ८.२, टेक्निसियन तथा एसोसिएट प्रोफेसनल ४.४, दैनिक प्रशासनिक काममा ३.१ प्रतिशत आबद्ध रहेका छन्।

सबैभन्दा बढी २३.८ प्रतिशत सेवा तथा व्यापार क्षेत्रमा आबद्ध रहेको पाइएको छ। त्यस्तै, २०.३ प्रतिशत प्राथमिक पेशा/व्यवसाय, १९.६ हस्तकला तथा शिल्पी क्षेत्रमा, १३.७ प्रतिशत कृषि तथा वन क्षेत्रमा आबद्ध छन् भने ५.४ प्रतिशत मेसिन सञ्चालन तथा एसम्बलमा क्षेत्रमा छन्।

जाइकाको सहयोगमा तथ्यांक विभागले २०७५ मा गरेको राष्ट्रिय आर्थिक गणनाअनुसार नेपालमा ९ लाख २३ हजार ३ सय ५६ व्यावसायिक उद्योग प्रतिष्ठान छन्। जसका १.२ प्रतिशत विदेशी लगानीकर्ता हुन् भने बाँकी नेपाली छन्। ५४.५ प्रतिशत उद्योग प्रतिष्ठान ४० वर्षमुनिका युवा समूहले सञ्चालन गरेका छन्।

सबै उद्योगमा ३२ लाख २२ हजार मानिस आबद्ध भएको तथ्यांकले देखाएको छ। ५३.९ प्रतिशत व्यापारिक प्रतिष्ठानमा ३०.६ प्रतिशत मानिस आबद्ध छन्। ४.४ प्रतिशत शैक्षिक प्रतिष्ठानको हिस्सा रहँदा १५.९ प्रतिशत मानिस यस क्षेत्रमा आबद्ध रहेका आर्थिक गणनाले देखाउँछ।

तथ्यांकअनुसार ११.३ प्रतिशत उत्पादन क्षेत्रमा १५.८ प्रतिशत मानिस आबद्ध रहेका छन्। होटल तथा आवाससम्बन्धी १४.१ प्रतिशत प्रतिष्ठानमा १०.७ प्रतिशत मानिस आबद्ध रहँदा १.९ प्रतिशत हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थामा ६.४ प्रतिशत मानिसले रोजगारी पाएका छन्।

त्यस्तै, २.२ प्रतिशत ओगटेको स्वास्थ्य प्रतिष्ठानमा ५.१ प्रतिशतले रोजगारी पाएको तथ्यांकले देखाएको छ। ६.२ प्रतिशत हिस्सा रहेको अन्य सेवासम्बन्धी औद्योगिक प्रतिष्ठानमा ५.५ प्रतिशत मानिस आबद्ध रहेको पाइएको छ।

युवा खाडी मुलुकमा
१८ वर्ष पुग्दा नपुग्दै ठूलो युवा जमात खाडी मुलुक जान तयार भएको हुन्छ। हातमा कुनै सीप तथा दक्षता नभएका धेरै नेपाली युवा खाडी मुलुक जाने गरेका छन्। निश्चित समयको श्रम करारमा उनीहरु खाडी मुलुक तथा मलेसिया जाने गरेका छन्।

सन् १९९३/०९४ मा वैदेशिक रोजगार विभागले ३ हजार ६ सय जनाको श्रम स्वीकृति दिएको थियो। त्यसको दुई दशकपछि सन् २०१३/०१४ मा ५ लाख १९ हजारले श्रमस्वीकृति लिएका थिए। त्यसपछिका वर्षमा श्रम स्वीकृतिको संख्या क्रमशः घट्दै गएको देखिन्छ।

सन् २०१८/०१९ मा २ लाख ३६ हजारले मात्रै श्रम स्वीकृति लिएको श्रम मन्त्रालयले तयार पारेको नेपाल श्रम आप्रवासन प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेमा पुरुषको बाहुल्य छ। जसमा शून्य प्रतिशत १ वर्षदेखि ३५ वर्षसम्मका छन्।

वैदेशिक रोजगारीमा करिब ६० प्रतिशत अदक्ष कामका लागि गएका छन्। विप्रेषणले धानेको नेपाली अर्थतन्त्रमा गत वर्ष मात्रै ८ खर्ब ७९ अर्ब रुपैयाँ श्रमिकले नेपाल पठाएका थिए।

१० वर्षमा साढे ३ लाख बढी विद्यार्थी विदेशमा
नेपालको ठूलो युवा जनशक्ति कामको लागि मात्रै नभई अध्ययनको लागि पनि विदेशिने गरेको छ। विदेश अध्ययन गर्न जानेको लागि १० वर्षमा शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थी साढे ३ लाख छन्।

आर्थिक वर्ष २०६५/०६६ देखि २०७५/०७६ सम्म ३ लाख ५४ हजार विद्यार्थीले मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएको मन्त्रालयले बताएको छ। विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ। विदेशमा अध्ययनको लागि जानु राम्रो भए पनि अधिकांश विद्यार्थी उतैको नागरिकता लिएर बस्ने गरेका छन्।

आर्थिक वर्ष २०६५/६६ मा २४ हजार ८ सय २४ जनाले नो अब्जेक्सन लेटर लिएकोमा २०७५/०७६ सम्म आइपुग्दा ६३ हजार २ सय ५९ विद्यार्थीले यस्तो लेटर लिएका छन्।

कोभिड १९ सँगै धेरैका रोजगारी गुमेका छन्। धेरैको व्यापार व्यवसाय टाट पल्टने अवस्थामा छ। वैदेशिक रोजगारमा रहेको युवाहरुले रोजगारी गुमाएर नेपाल फर्किन चाहिरहेका छन्।

- यो पनि पढ्नुहोस्
: लकडाउनका कारण खोसियो ६० लाख नेपालीको रोजगारी
: सात मुलुकबाट मात्र ४ लाख नेपाली फर्किंदै, यस्तो छ तिनलाई ल्याउने योजना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .