ad ad

समाज


सुर्ती उद्योगले जोखिम बढाएको भन्दै स्थानीयबासी आन्दाेलित

सुर्ती उद्योगले जोखिम बढाएको भन्दै स्थानीयबासी आन्दाेलित

नेपालखबर
जेठ ७, २०७७ बुधबार ११:११,

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारका स्थानीयवासीले शुरु गरेको रिले अनशनको आठौँ दिन विभिन्न टोल विकास संस्था र आमा समूहले समर्थन जनाएका छन्।

लकडाउनका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालिले सुर्ती उद्याेग सञ्चालन गरेको भन्दै स्थानीयवासीले गत वैशाख ३१ गतेदेखि शुरु गरेको रिले अनशनको आठौँ दिन आज टोल विकास संस्था, आमा समूह, युवा क्लबलगायतले समर्थन जनाएका हुन्।

रिले अनशनमा शुक्लागण्डकी नगरपालिका–७ स्थित शेराटार टोल विकास संस्था, शेराटार आमा समूह, सिमलचौर टोल विकास संस्था, बगैँचा युवा क्लब, बगैँचा टोल विकास संस्था, सुन्दर टोल विकास संस्था, जागृति टोल विकास संस्था, शिवचोक टोल विकास संस्था, दोभान टोल विकास संस्था, प्रकृति टोल विकास संस्था, शीतलपाटी टोल विकास संस्था, भोटेपानी टोल विकास संस्था, म्याग्दे गाउँपालिका–५ स्थित भुलभुले टोल विकास संस्था, सत्यवती टोल विकास संस्था, सगरमाथा आमा समूहलगायतले समर्थन जनाएका हुन्।

बन्दाबन्दीका क्रममा उद्योग बन्द गर्न माग गर्दै थालिएको रिले अनशनमा स्थानीयस्तरबाट पनि समर्थन प्राप्त भएको स्थानीयवासी किसान गुरुङले जानकारी दिए। बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढेकाले स्थानीयवासी त्रसित रहेको उनको भनाइ छ।

‘कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेको विरोधमा हामी विगत आठ दिनदेखि आन्दोलनमा छौँ’, उनले भने, ‘काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’ उनका अनुसार बिहान ६ बजेदेखि शुरु रिले अनशन साँझ ६ बजेसम्म जारी रहनेछ।

उद्योगले सिमरामा प्रशोधन गरिएको पाँच कन्टेनर सुर्ती र दुई कन्टेनर प्याकिङका सामग्री ल्याएको छ। जोखिमको अवस्थामा रातारात सामग्री ल्याएर थप जोखिम निम्त्याउने काम भएको स्थानीयवासी दिलबहादुर गुरुङले बताए। बन्दाबन्दी अवधिभर उद्योगको काम पनि बन्द हुनुपर्ने स्थानीयवासीको माग छ। उद्योगमा मौज्दात रहेका सुर्ती कुहिने अवस्थामा आएकाले काम सञ्चालन गरेको प्रबन्धक बाबुराम कार्कीले जानकारी दिए। उनका अनुसार उद्योग सञ्चालनमा ल्याए पनि कर्मचारीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ।

शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले उद्योगले स्थानीयवासीसँग समन्वय गरेर अहिलेको विवाद समाधान गर्नुपर्नेमा जोड दिए। ‘विगतका दिनहरुमा पनि स्थानीयवासीसँगको समन्वय र सहकार्यमा उद्योग सञ्चालन हुँदै आइरहेको छ, अहिलेको महामारीको बेला पनि उद्योगले आफूखुशी गर्न मिल्दैन’, उनले भने, ‘बन्दाबन्दीको समयमा उद्योगले स्थानीयवासीसँग समन्वय गरेर समस्याको समाधान खोज्नुपर्छ।’

उनका अनुसार सुर्तीजन्य वस्तु अत्यावश्यकभित्र नपर्ने र बन्दाबन्दीमा लामो समयसम्म बन्द रहेको उद्योगले जिल्ला प्रशासन कार्यालय तनहुँसँग अनुमति लिएर काम शुरु गरेको थियो। ‘उद्योगभित्रै बाँकी रहेको कच्चा पदार्थको प्रयोग गरेर काम गर्छौं भन्ने प्रतिबद्धता भए पनि थप कच्चा पदार्थ बाहिरी जिल्लाबाट ल्याउने काम भएको रहेछ’, उनले भने, ‘उद्योग प्रशासनले सहमति उल्लंघन गरेपछि स्थानीयवासी रिले अनशनमा छन्।’

पृथ्वीराजमार्गसँगै जोडिएको उद्योगले विगत ६ वर्षदेखि चुरोट उत्पादन गर्दै आइरहेको छ। १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य कम्पनीको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .