ad ad

कारोबार


बाँदरले हैरान पारेका किसानको प्रश्नः ‘वन्यजन्तु जोगाउने कि खेती?’

बाँदरले हैरान पारेका किसानको प्रश्नः ‘वन्यजन्तु जोगाउने कि खेती?’

जमुनावर्षा शर्मा
जेठ १६, २०७७ शुक्रबार १०:४६,

पोखरा महानगरपालिका वडा नं १९, लामाचौरमा मकैबारीमा एक हुल बाँदर मकै खाएर बसिरहेको थियो। बाँदर धपाउँदा धपाउँदा हैरान भएर आफ्नै बारीको मकै बाँदरले सत्यानाश गर्दा टुलुटुलु हेर्नाको विकल्प किसानलाई छैन।

‘बारीमा मकै छर्नु मात्र, सधैंँ यस्तै हुँदा कति साध्य लाग्छ बिहानदेखि बेलुकासम्म हेरेर बस्न? अब त दिक्क लागिसक्यो, खेती नै नगर्ने सोचमा पुगेको छु।’

बाँदरले बारीका मकै छरपष्ट पारेर बोट खाली गरेको देखेपछि स्थानीयवासी किसान मोहनबहादुर खत्रीले चिन्ता व्यक्त गरे।

‘यस्तो भएपछि कसरी खेती लगाउने, देखिहाल्नुभयो’ बाँदरले खाएको बारी देखाउँदै उनले भने।

खत्रीले आफूले लगाएको बाली बाँदरले सखाप पार्न थालेपछि खेतीयोग्य केही जमीन नै कुखुरा पाल्नका लागि भाडामा दिएका छन्। मकैबारीभन्दा केही तल गह्रामा आली सम्याउँदै गरेका स्थानीयवासी पार्वती भण्डारीले दैनिक रु पाँच सय दिई हेरालु राखेर खेती जोगाउनुपर्ने बाध्यता रहेको गुनासो गरे।

‘सधैँ यस्तै दुःख, मेहनतको त मूल्य नै छैन, खेती जोगाउन साह्रै मुश्किल छ, अब धान रोपेपछि दैनिक ५ सय दिई हेरालु राखेर खेती जोगाउनुपर्छ। किसानका आवाज सुन्ने कुनै सरकार भएन।’

उनले जतिपल्ट बाँदर नियन्त्रणका लागि सरकारसँग आग्रह गरे पनि समाधान नभएपछि दिक्क भएको बताए। उनलाई मास, भटमास, धान र मकै जे लगाए पनि बाँदरबाट जोगाउन गाह्रो भएको छ।

वडाध्यक्ष शोभामोहन पौडेलले बाँदर व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्दा बाँदर विरोधी खेतीमा जोड दिन किसानलाई आग्रह गर्न थालिएको बताए।

‘बाँदर नियन्त्रण स्थानीय तहबाट हुने सम्भावना देखिँदैन, सबैले बाँदर नियन्त्रण भएन भन्नुहुन्छ, नियन्त्रणको उपयुक्त उपाय दिनुहुँदैन, संघीय सरकारले नै नीति तथा कार्यक्रम र बजेटमा नै बाँदर नियन्त्रणको विषय समेट्नुपर्ने हो, निकै जटिल, भन्दा सामान्य सुनिन्छ तर कार्यान्वयनको पक्ष भनेजस्तो सहज छैन।’

उनका अनुसार वडा नं १९ का २१ ठाउँमा बाँदरबाट किसान सताइएका छन्।

‘हेरालुका लागि मासिक २० हजार रुपियाँ दिएर खेती जोगाउन पनि सहज हुन्न, यदि दीर्घकालीन रुपमा बाँदर नियन्त्रण हुन्छ भने ५० लाख रुपियाँ छुट्याउन पनि समस्या थिएन, उपयुक्त विकल्प नै भेटेका छैनौँ।’

उनले बाँदर रुखमा बस्ने भएकाले तारबार जालीले पनि सम्भव नहुने बताए। उनले भने, ‘वन संरक्षण गर्नुपर्ने, बाँदर मार्न पनि नपाइने कानून छ, समस्या दिनदिन थपिएको छ। त्यसैले बाँदर विरोधी खेतीको लागि अदुवा, बेसार, अम्रिसो, खेतीतर्फ जोड दिनुपर्ने देखिएको छ।’

लामाचौरदेखि सार्दीखोलासम्म, काभ्रे जंगलदेखि घार्मीसम्म जताततै बाँदरले सताएको छ। केन्द्रबाटै स्पष्ट नीति नआएसम्म स्थानीय तहबाट मात्र समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ।

स्थानीयवासी राधा गौतमले बाँदर आतंकले साह्रै सताएपछि प्रशासनको स्वीकृतिमा २०६७ सालमा नै आलुबम पड्काएर बाँदर धपाउने प्रयास भए पनि सफल नभएको बताए।

‘हामीले साविकको लामाचौर गाविस ५ र ६ मा महिला समाजकल्याण आमा समूहमार्फत ‘वन्यजन्तु जोगाउने कि खेती जोगाउने’ भनेर जिल्ला प्रशासन पुगेका थियौँ।’

प्रत्येक घरधुरीबाट २ सय रूपियाँ उठाएर प्रशासनको सहयोग र वडा प्रहरी कार्यालय बगरको समन्वयमा बाँदर धपाउन आलु बम फालेर केही दिन पहल पनि ग-यौँ तर आगो बालेर बम फाल्दा एक दिन मेरो हातमै बम पड्क्यो, तत्काल अस्पताल गएर निको भयो’, हातमा लागेको चोटको खत देखाउँदै गौतमले भने।त्यस दिनदेखि डराएर बाँदर धपाउने अभियान रोकिएको उनले बताए।

बाँदर नियन्त्रण नहुँदा कृषितर्फ किसान निरुत्साहित हुँदै गएकाले पहिला बाँदरबाट कृषि जोगाउन विशेष पहल भएपछि बल्ल अरु योजनामा बहस उपयुक्त हुने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .