ad ad

कारोबार


साउदी अर्बपति राजकुमारबाट चौधरी ग्रुपले ३ अर्बमा किन्यो केन्याको दुई होटलको सेयर

साउदी अर्बपति राजकुमारबाट चौधरी ग्रुपले ३ अर्बमा किन्यो केन्याको दुई होटलको सेयर

नेपालखबर
जेठ २४, २०७७ शनिबार ९:४७,

नेपाली अर्बपति विनोद चौधरलिे साउदी अर्बपति राजकुमार अल वालिद बिन तलालको फेरमन्ट द नरफक र फेरमन्ट मारा सफारी क्लबमा रहेको सेयर २.८ अर्ब केन्याली मुद्रामा किनेका छन्। यो भनेको नेपाली करिब ३ अर्ब १९ करोड रुपैयाँ हो। कोभिड–१९ को विश्वव्यापी संक्रमणअघि नै यससम्बन्धी सम्झौता सम्पन्न भएको थियो।

साउदी राजकुमार अल वालिद तलालले किंगडम होल्डिंग्समार्फत खरिद गरेको होटलको सेयर नेपालको चर्चित व्यावसायिक घराना चौधरी ग्रुपलाई बिक्री गरेको बिजनेस डेली अफ्रिकाले जनाएको छ।

भ्रष्टाचारलगायत आरोपमा स्वदेशमा पक्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्।

साउदी राजकुमार र चौधरी ग्रुपबीच भएको सम्झौताका जानकार एक सल्लाहकारलाई उधृत गर्दै उक्त अनलाइनले जनाएअनुसार २.८ अर्ब केन्याली मुद्रामा उक्त सम्झौता भएको हो।

ती सल्लाहकारले साउदी राजकुमारले केन्या छाडेर अन्तै लगानी गर्नेबारे सोचेको बताए।

दुई पक्षबीच सम्झौता सम्पन्न भइसकेको छ भने चौधरी ग्रुपले दुवै होटलको शतप्रतिशत साजसज्जा र डिजाइनलगायतका काम गर्ने भएको छ। यसका लागि १ वर्ष लाग्ने बताइएको छ।

नेपालका अर्बपति विनोद चौधरीको चौधरी ग्रुपले एसिया र मध्यपूर्वमा यसअघि नै होटलमा लगानी गरिसकेको छ।

नयाँ सम्झौतासँगै १ सय ७० अतिथिकक्ष र पारिवारिक कक्ष, ५१ विलासी टेन्ट र १० वटा फुड एण्ड बेभरेज आउटलेटहरु चौधरी ग्रुपले पाएको छ।

binodhotel2
केन्यास्थित फेरमन्ट मारा सफारी क्लब होटल

नैरोबी (केन्या) होटल र मारा टेन्टेड फेसिलिटी काठमाडौंमा आधारित चौधरी ग्रुपको दोस्रो प्राप्ति सम्झौता हो। चौधरी ग्रुपले इन्डियन ओसन आइल्यान्ड राज्य सिसिलीमा समेत लि रिल्याक्स होटल सञ्चालन गरिरहेको छ।

चौधरी ग्रुपले बैंकिङ, शिक्षा, ऊर्जा, दूरसञ्चार र औषधि क्षेत्रमा ५ महादेशमा व्यवसाय चलाउँदै आएको छ। ग्रुपका प्रमुख विनोद चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति रहेको अनुमान गरिन्छ।

किंगडम होटल इन्भेष्टमेन्टले लोनर्हो सम्पत्ति सन् २००५ मा प्राप्ति र स्तरवृद्धिका लागि ६ अर्ब केन्याली मुद्रा खर्च गरेको थियो। जुन बेलायती कुलीन टिनी रोल्यान्डको विशाल साम्राज्यको बाँकी सम्पत्ति हो। तिनीहरुमा नैरोबीको नरफक होटल र नान्युकीको द माउन्ट केन्या सफारी क्लब, द अबेरदारे काउन्ट्री क्लब, द आर्क र मारा सफारी क्लब पर्छन्।

उक्त प्राप्तिलाई त्यतिबेला पूर्वी अफ्रिकाकै महंगोमध्ये एक मानिएको थियो। तर राजकुमार अलविदले होटलबाट रणनैतिक निर्णय लिँदै सिरियाको फोर सिजन्स दमास्कस र लेबनानको फोर सिजन्स बेरुत बिक्री गरेका छन्।

अलविद साउदी अरेबियाका संस्थापकका नाति हुन्। यो बिक्री साउदी अरेबियाका उच्च अधिकारीहरुको पक्राउको २ वर्षपछि आएको छ। साउदी अरेबियामा अहिलेका राजकुमारले भ्रष्टाचार निर्मूल पार्ने भन्दै राजपरिवार सदस्यहरू नै पक्राउ गरिरहेका छन्।

अलविदले विश्वका विलासी होटल चेनमा एकपछि अर्को लगानी गर्दै आएका थिए। उनी अहिले ६० वर्ष पुगेका छन्। उनले विगत ३० वर्षमा २० अर्ब अमेरिकी डलरको सम्पत्ति जोडेको ब्लुमबर्गले जनाएको छ। यी राजकुमारको न्युज कर्प, सिटीग्रुप र ट्विटरमा समेत मुख्य लगानी छ।

उनले अमेरिकी अर्बपति बिल गेट्ससँगै फोर सिजन्स होटल चेनमा सहलगानी गरेका थिए भने लन्डनको विलासी होटल द स्याभीका मालिक समेत हुन्।

उनको अरु होटल लगानीहरुमा पेरिसको जर्ज भी र न्युयोर्कको प्लाजा पनि पर्छ।

किंगडम होल्डिंग्सले यसअघि फाइभस्टार फेरमन्ट माउन्ट केन्या सफारी क्लबबाट हात झिकेको थियो।

सीजी हस्पिटालिटीले आफूले लिएका दुवै होटलको नवीकरण गर्ने जनाएको छ। जुन मारा नदीमा आएको बाढीले केही क्षति पुर्याएको छ।

कोरोना महामारीले होटल क्षेत्र नै तहसनहस भएको बेला चौधरी ग्रुपले केन्याको होटल खरिद गरेको हो। खरिदसँगै ग्रुपले होटलका कर्मचारीलाई मनाउनुपर्नेछ। उनीहरुले ५० प्रतिशत खर्च मागदाबी गरेका छन्।

गत हप्ता होटलले सबै कर्मचारी निकालेको र दुवै होटल बन्द भएको बताएको थियो तर बिहीबार महान्यायाधिवक्ताको कार्यलयले होटलको निर्णयमा कानुनी प्रश्न उठाएपछि निर्णय फिर्ता लिएको थियो। अन्य देशमा जस्तै केन्यामा पनि मध्यमार्चयता सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्। महामारीका कारण पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेका छन्।

कोरोनाको व्यापक संक्रमण देखिएका पाँच काउन्टीमा साँझबिहान कर्फ्यु लगाइएको छ। जसमा मोम्बासा र नैरोबी पनि पर्छ। नैरोबीका ट्राइब होटल, ओले सेरेनी र दुसित डी२ बन्दप्रायः छन्। हालसम्म केन्यामा ७८ जना भाइरसका कारण मृत्युवरण गरेका छन् भने २ हजार ३ सय ४० जनामा संक्रमण भेटिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .