ad ad

कारोबार


पोखराकाे बजेट ६ अर्ब १९ करोड, पुराना घर संरक्षण गर्ने महानगरको योजना

पोखराकाे बजेट ६ अर्ब १९ करोड, पुराना घर संरक्षण गर्ने महानगरको योजना

वाशुदेव मिश्र
असार १०, २०७७ बुधबार १५:४१,

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यो रकम गएको आर्थिक वर्ष भन्दा झण्डै १ अर्ब कम छ।

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार बजेट सार्वजनिक गर्दै कोरोना महामारिका कारण बजेटको आकार घटेको सुनाइन्। बजेटमा संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान महानगरले लिएको छ। यस्तै, अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान महानगरको छ।

उपमेयर मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गर्दै राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरेको सुनाइन्। आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान बजेटले गरेको छ।

चालु आर्थिक वर्षमा महानगरले नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका लागि चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा अनुमानित रकम ७ अर्ब ५४ लाख रुपैयाँ आय प्रक्षेपण गरेको थियो। जसमध्ये संघीय सरकार अनुदानबाट २ अर्ब २ करोड ४३ लाख २४ हजार, प्रदेश सरकारको अनुदानबाट ५ करोड १४ लाख ४४ हजार अनुमान गरिएको थियो।

यस्तै, राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट ४१ करोड ९९ लाख र प्रदेश सरकारबाट ३ करोड ८२ लाख, आन्तरिक आय २ अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट १० करोड, जनसहभागिता १२ करोड २५ लाख, नगद मौज्दात २२ करोड, सडक बोर्ड २ करोड ५० लाख, अन्तर सरकारी अख्तियारी १ अर्ब २६ करोड २५ लाख अनुमान गरिएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा व्ययतर्फ सञ्चित कोषबाट ५ अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान ६ अर्ब ३८ लाख भएको महानगरले जनाएको छ। कार्य सञ्चालन कोषबाट व्यय रुः १ अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकोमा आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म ३ अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको उल्लेख छ।

यस्तै, खर्चतर्फ जेठ मसान्तसम्म चालू खर्चतर्फ १ अर्ब ३६ करोड २० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब १० करोड ८३ लाख खर्च भई चालुतर्फ ५४ दशमलव ५ र पुँजीगत तर्फ ३१ दशमलव ५ प्रतिशत खर्च भएको छ। कुल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ भने असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ। हालसम्म ३ अर्ब ३१ करोड २० लाख आम्दानी भएको र अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको महानगरले उल्लेख गरेको छ । कोरोना भाइसर कोभिड १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको बताइएको छ।

कोभिड १९ ले उत्पन्न गरेको परिस्थितिलाई सम्बोधन गर्ने
महामारिको रुपमा फैलिई रहेको कोरोनाले पारेको प्रभावलाई महानगरले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने जनाएको छ। बजेटमा नागरिकका मौलिक हक एवं जीवन रक्षाको सुनिश्चिता, संस्थागत क्षमता विकास तथा सुशासन प्रवद्र्घन गर्ने उल्लेख छ।

महानगरपालिका, महानगरवासी, सहकारी, नागरिक समाज र निजी क्षेत्रको सहभागितामा आर्थिक तथा सामाजिक क्रियाकलापहरु सञ्चालन गरी हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने, विकासको लागि आवश्यक स्रोत तथा साधनहरुको अधिकतम सदुपयोग गर्न विकास साझेदारहरुसँग सहकार्य गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्टिय उद्देश्य अनुरुप दीगो तथा द्रुत विकास गतिविधिहरु सञ्चालन गर्ने महानगरले जनाएको छ। राजश्वको दायरा वृद्धि गर्ने, कर दाताहरुलाइ सम्मान गर्ने, व्यवसायी, पेशाकर्मी, तथा नागरिकहरुलाइ कर प्रणालीमा आवद्ध हुन प्रोत्साहित गर्ने बजेटमा बताइएको छ।

यस्तै, सम्पत्ति वहालतर्फ महानगरपालिकाले भाडामा दिइएका सटर तथा भवनहरुको २०७६ चैत देखि २०७७ जेठ मसान्त सम्म ३ महिनाको घर भाडा तथा वहाल कर छुट दिइने बताइएको छ। यसरी छुट दिएको वहाल रकम आगामी आर्थिक वर्ष २०७७।७८ को पहिलो चौमासिक भित्र मिलान गर्ने गरी व्यवस्था गरिने छ। अन्डरग्राउन्ड पार्किङसहित निर्माण भएका घर तथा भवनहरुको नक्सापास दस्तुरमा एक तलाको राजश्व छुटको व्यवस्था गर्ने र भूकम्प पीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा उक्त दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेभलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिने बताइएको छ।

पुराना घर संरक्षण गर्ने
बजेटले पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु संरक्षण गर्ने छ। भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइने व्यवस्था महानगरले बजेटमा गरेको छ।

अपांगता भएकाहरु, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषि सम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तिमा ३ रोपनी भन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था बजेटमा गरिएको छ।

संघीय सरकार बाट प्राप्त अख्तियारी समेत कुल प्रस्तावित बजेट ६ अर्व १९ करोड ७१ लाख ७८ हजार मध्ये चालु खर्च तर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ भने उक्त बजेट मध्ये प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन बजेटमा गरिएको छ। जसमध्ये चालु खर्च तर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत हुन आउँछ भने प्रशासिनक तथा सञ्चालन तर्फ २६ प्रतिशत र कार्यक्रम तर्फ ७४ प्रतिशत हुन आउँछ। कूल विनियोजन मध्ये विभिन्न कोषहरुमा १० करोड, विभिन्न विषयगत समितिहरुको आन्तरिक पूँजीगत खर्च २ अर्ब ८० करोड २१ लाख ५८ हजार विनियोजन बजेटले गरेको छ।

सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै चालु आवमा संचालनमा रहेका योजना सम्पन्न गर्नका लागि ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट विनियोजन बजेटले गरेको छ।

कर्मचारीको भत्ता काटियो
महानगरले यस वर्षदेखि कर्मचारीहरुलाई प्रदान गर्दै आईरहेको स्थानिय भत्ता ,अतिरिक्त कार्य समय भत्ता,मूल्यांकन भत्ता लगायतका सबै प्रकारका अतिरिक्त भत्ताहरुलाइ यस आर्थिक वर्षदेखि कटौती गर्ने बताएको छ। भौतिक संरचनाहरुको विकास, दक्ष जनशक्ति व्यवस्थापन, प्रयोगशाला तथा उपकरणहरुको व्यवस्था गर्न विशेष अनुदान बाट ४ करोड बजेट विनियोजन बजेटमा गरिएको छ।

स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन गर्न सशर्त कार्यक्रम १९ करोड ३३ लाख र आन्तरिक ९ करोड ५१ लाख गरी कोरोना विशेष कार्यक्रमका समेत सञ्चालनका लागि २८ करोड ८४ लाख बजेटले व्यवस्था मिलाएको छ । श्रममा आधारित कोरोना विशेष रोजगार कार्यक्रम सञ्चालन गर्न संघीय कार्यक्रमसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गर्न ३ करोड ४९ लाख बजेटमा व्यवस्था मिलाइएको छ।

यस्तै, शिक्षातर्फ अनुसन्धान र खोजमूलक शिक्षामा जोड दिँदै चालू आवमा साझेदारी गरिएका विद्यालयको नतिजाका आधारमा साझेदारी कायम गर्ने नीति लिइएको छ। नतिजाको आधारमा एक प्रादेशिक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट गरी पुरस्कृत गरिनेछ।

बजेटले विद्यार्थीलाई घरबाटै शिक्षा लिन व्यवस्थाको लागि आवश्यक समन्वय गर्न गरि बजेटको ब्यवस्था समेत गरेको छ। शिक्षातर्फ संघीय अनुदानबाट १ अर्ब २४ करोड ५६ लाख र आन्तरिक स्रोतबाट ५ करोड ७ लाख गरी १ अर्ब २९ करोड ६३ लाख बजेट महानगरले छुट्याएको छ।

कनेक्टिभिटी सडकलाई बजेट
महानगर भित्रका ३३ वटै वडा जोड्ने गरी निमार्ण गर्न लागिएको कनेक्टििभिटि सडकको लागि ६५ करोड ४४ लाख ९२ हजार रुपैँया बजेट विनियोजन गरेको छ। महानगरका सबै वडालाई महानगरसंग जोड्ने गरी कनेक्टिभिटि सडकको योजनालाई प्राथमिकतामा उक्त रकम विनियोजन गरको हो ।

‘महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटि सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै चालु आवमा सञ्चालनमा रहेका योजना सम्पन्न गर्नका लागि ५६ करोड ४४ लाख ९२ हजार रुपैँया बजेट विनियोजन गरेको छु’, बजेट सार्वजनिक गर्दै उपप्रमुख गुरुङले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .