ad ad

कारोबार


पर्यटनकर्मी महिलाले गरिदिए डोकोमा तरकारी बेच्नेहरुको कोरोना बीमा

पर्यटनकर्मी महिलाले गरिदिए डोकोमा तरकारी बेच्नेहरुको कोरोना बीमा

वाशुदेव मिश्र
असार १२, २०७७ शुक्रबार १२:३१,

कोरोना संक्रमणकाे जोखिम कसलाई बढी हुन्छ?

स्वभाविक उत्तर हो, ‘महलमा बस्नेहरुलाईभन्दा सडकमा दैनिक ज्यालादारी गर्नेलाई।’ 

सडक छेउमा थोरै लगानीसहित तरकारी बेच्ने वा डोकोमा घरघर तरकारी डुलाएर छाक टार्ने बाध्यता भएकाहरु घरमा थन्किन पाउँदैनन्, भोको पेटले दिँदा पनि दिँदैन। कोरोना कहर बढ्दै गएपनि काम नगरि खान पनि पाइन्नँ।

हो, यसरी तरकारी बेच्दै हिँड्ने १९ जनाको लागि पोखरामा क्रियाशिल महिला पर्यटन व्यवसायीहरुको संस्था ‘टेवान’ले कोरोना बीमा गरिदिएको छ ।

टेवान र बीमा कम्पनी एनएलजी इन्स्योरेन्सबीच बिहीबार सामूहिक बीमाको सम्झौता भएको छ। टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले कोभिड–१९ को महामारीको सन्दर्भमा सामाजिक उत्तरदायित्व अनुरुप विपन्न महिलाको कोरोना बीमा गरेको बताइन्।

‘संक्रमणको उच्च जोखिममा रहेका फुटपाथ पसले महिलाको बीमासम्म पहुँच पनि हुँदैन,’ उनले भनिन्, ‘उनीहरुको आर्थिक अवस्था समेत कमजोर भएकोले हामीले बीमा गरिदिएका हौं।’
उपाध्यक्ष रेनु थापाले खाद्यान्न लगायत राहत सामग्री धेरैले वितरण गरेकाले केही फरक काम गर्ने उद्देश्यका साथ कोरोना बीमाको योजना अगाडि सारेको बताइन्।

‘उहाँहरुमा कसरी सुरक्षित हुने भन्ने थाहा पनि छैन। हामीलाई दैनिक तरकारी, फलफूल खुवाइरहनुभएको छ,’ उनले भनिन्, ‘हामी जुम मिटिङमा जुटेर कोरोना बीमा गरिदिने निर्णय ग-यौं।’

टेवानकी महासचिव कमला गिरीले सडकमा डोको बोकेर व्यापार गरिरहेका महिलाको जोखिम न्यूनीकरणमा कोरोना बीमाले मद्दत पुग्ने बताइन्।

‘उहाँहरुलाई हेर्दा बीमा गर्न नसक्ने अवस्थाको पायौं,’ उनले भनिन्, ‘कोरोना लागिहाले पनि केही न केही मल्हम लगाउने काम हुन्छ।’

पोखरा–६ का वडाध्यक्ष जगत पहारीले टेवानले फरक सोच राखेर काम गरेको बताए। महामारीको बेलामा सबैले एकआपसमा सहयोग आदानप्रदान गर्नुपर्ने उनको भनाइ थियो।

टेवानकी सचिव शोभा न्यौपाने पाण्डे र कोषाध्यक्ष प्रभा सुवेदीले आगामी दिनमा संस्थाले अन्य क्षेत्रमा पनि सहयोग गर्ने उल्लेख गरे। इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बीमा लागु हुनेछ। आगामी चैतसम्म पीसीआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले एक लाख रुपैयाँ पाउनेछन्।

‘सडकमा व्यापार गर्नेहरुमा कोरोनोका संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘कमाएर परिवार पाल्नेको बीमा गर्दा पछि बिरामी भइहाले त्यसवापत पाउने रकमले धेरै सहयोग पुग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .