ad ad

कारोबार


गण्डकीमा सलहः ‘खतरा छैन तर सचेत हुनुपर्छ’

गण्डकीमा सलहः ‘खतरा छैन तर सचेत हुनुपर्छ’

वाशुदेव मिश्र
असार १४, २०७७ आइतबार १२:५६,

गण्डकी प्रदेशमा सलह पसे पनि त्रसित नै हुनुपर्ने अवस्था नरहेको विज्ञहरुले बताएका छन्। 

‘दक्षिणबाट उत्तरतिर बहाव हुँदा केही झुण्ड यता आएका हुन्, खासमा यो झुण्ड पूर्वतिर गएको थियो, त्यसले हावाको बहावसँग यता आउँदा अलिअली देखिएको हो’, गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको -यापिड रेस्पोन्स टिमका सदस्य तथा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले भने, ‘अहिले आएको सलहले खासै असर पु-याउने देखिँदैन।’

तर, उनले हावाको बहाव बदलियो र ठूलो समूह गण्डकी प्रवेश गरेमा चाहिँ खतरा हुने बताए। अहिले आएको सानो समूहको सलह पनि धानको ब्याडमा बस्यो भने त्यसले बीउ खाइदिन सक्ने भएकोले किसानहरुलाई सतर्क रहन उनले आग्रह गरे।

गण्डकीका केही ठाउँमा सलह देखिए पछि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबार नै बरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा -यापिड रेस्पोन्स टिम बनाएको छ। टिममा बरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र संजिव बास्तोलासहित कृषि प्रसार अधिकृत विश्वास काफ्ले रहेका छन्।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै फट्याङ्ग्रा र सलह छुट्याउन, खाद्यान्नका ब्याडहरु तारजालीले छोप्न, सलह नै आए समातेर माछा वा पंक्षीको आहारा बनाउन र जैविक विषादीहरुसहित मालाथिएन, डेल्टामेथ्रिनजस्ता रासायनिक विषादी प्रयोग गर्न पनि सुझाएको छ। तर, विषादी प्रयोग गर्दा सुरक्षित रहनुपर्ने मन्त्रालयले जनाएको छ।

शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्वीर राखिए पनि आइतबार भने साँच्चिकै सलह पोखरामा देखिएको थियो। लगत्तै लमजुङको सुन्दरबजारमा पनि सलह देखियो। तर, त्यो ठूलो समूहमा थिएन। पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा– १७,महतगौंडामा ८/१० वटा सलह देखिएको पुष्टि गरेका हुन्।

उनले पनि हावाको गति अनुसार सानो समूहको सलह पोखरातिर आएको बताएका थिए।

‘तितरबितर भएर सलह पोखरा आइपुगेको हुनसक्छ, विभिन्न सरोकारवाला निकायहरुले पहिचान साथै सहकार्य गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘सचेत हुन जरुरी छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .