ad ad

कारोबार


धितोपत्र बोर्डको नीति तथा कार्यक्रमः नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न दिइने

धितोपत्र बोर्डको नीति तथा कार्यक्रमः नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न दिइने

नेपालखबर
असार ३०, २०७६ सोमबार ११:३३,

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न दिने प्रक्रिया अघि बढाउन दिने भएको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संस्थागत सुधारको साथै निजी क्षेत्रमा अर्को स्टक एक्सचेन्ज स्थापना गर्न दिने नीतिगत व्यवस्था भएअनुसार नै यस कार्यलाई अगाडि बढाउन लागेको बोर्डले जानकारी दिएको छ। सोही कारण आगामी आवको नीति तथा कार्यक्रममा यो निर्णय समावेश गरिएको हो। लामो समयदेखि निजी क्षेत्रको पनि स्टक एक्सचेन्ज सञ्चालनको लागि माग भइरहेको थियो। हाल सरकारी स्टक एक्सचेन्जबाट मात्रै सेयर कारोबार भइरहेकोमा यसको स्थापना भएमा निजी क्षेत्रको स्टक एक्सचेन्जमा पनि सेयर कारोबार हुने बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जानकारी दिए।

त्यस्तै नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भावना साथै लगानीकर्ताको हकहितलाई ध्यानमा राखी दुईवटा मात्रा वस्तु विनियम बजार सञ्चालन अनुमति दिने नीतिगत व्यवस्था गरिएअनुसार निर्धारित मापदण्डअनुरुप वस्तु विनिमय बजारलाई अनुमति दिई सञ्चालन गराइने बोर्डले जनाएको छ। वित्तीय लगानीकर्ताको संरक्षणसम्बन्धी व्यवस्थालाई सुदृढ गर्दै वित्तीय समावेशी नीति तर्जुमा गर्ने पनि नीति तथा कार्यक्रममा व्यवस्था गरिएको छ। त्यस्तै, हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ।

बोर्डले चालू आर्थिक वर्षको समीक्षा गर्दै विश्वबजारको तुलनामा नेपालको धितोपत्र बजार थप सुधारोन्मुख रहेको जानकारी दिएको छ। सन् २०१८ मा विश्व धितोपत्र बजारका अधिकांश सूचकहरुमा गिरावट आए पनि नेपालमा भने सकारात्मक नै भएको बोर्डको भनाइ छ। अमेरिकी क्षेत्रको धितोपत्र बजारको पुँजीकरण करिब ६ प्रतिशतले घटेकोमा गत वर्ष एसिया प्यासिफिक क्षेत्रमा २३ दशमलव ७ प्रतशतले र युरोप, मध्यपूर्व र अफ्रिकी क्षेत्रमा १५ दशमलव ६६ प्रतिशतले घटेको बोर्डले जनाएको छ। यसरी समग्र विश्वको धितोपत्र बजारको पुँजीकरण १४ दशमलव ६२ प्रतिशतले घटेको छ।

चालू आर्थिक वर्षमा नेपालको बजार सुधार तथा विकासको लागि उल्लेख्य कार्यहरु भएकोले सुधारोन्मुख रहेको बोर्डको दाबी छ। प्राथमिक बजारमा करिब १६ प्रतिशतले पुँजी परिचालन कमी भए पनि दोस्रो बजारको नेप्से सूचकाङ्कमा करिब दुई अंकको सुधार रहेको छ। चालू वर्षमा प्राथमिक सेयर निष्काशन नै ६७ प्रतिशतले वृद्धि भएको धितोपत्र बोर्डले समीक्षामार्फत जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .