ad ad

कारोबार


सेयर बजार घट्यो, ३४ करोडको कारोबार

सेयर बजार घट्यो, ३४ करोडको कारोबार

नेपालखबर
असार १५, २०७७ सोमबार ९:५७,

लकडाउनपछि पहिलो दिन खुलेको सेयर बजार परिसूचक नेप्से घटेको छ। कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो।

बजार लगातार घट्न थालेपछि लगानीकर्ताले सेयर बिक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो। तर पनि सोमबारको बजार बन्द हुँदासम्म नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ।

सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ। दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँबराबरको ९ लाख ७० हजार ७६ कित्ता सेयर खरिद विक्री भएको छ।

सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ। सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीको सेयरधनीले कमाएका छन्। यी कम्पनीका सेयरधनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ।

यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका सेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन्।

जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहका सूचकहरु बढेका छन्। बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समुहका सूचकहरु भने घटेका छन्।

सोमबारदेखि खुलेको नेप्से बजार लकडाउनअघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समयअनुसारको व्यवस्थाबमोजिम खोलिएको हो।

यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो।

लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुल्ला गरिएको थियो । तर दुई दिन नै निर्धारीत समय अघि नै नकारात्मक सर्किट लागेर कारोबार भन्द भएपछि तेस्रो दिन देखि फेरी कारोबार बन्द गरिएको थियो ।

त्यसयता अनिश्चित बनेको सेयर बजार असार १५ गते (आज) देखि पुरानै व्यवस्थाअनुसार खोलिएको नेप्सेले जनाएको छ। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले लकडाउनभन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो सोही अनुसार नै खोलिएको बताए।
उनले लकडाउनभन्दा पहिले परीक्षणको रुपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउसो ३ बजे सम्म बजार खुला गरिएको बताउनुभयो । लकडाउन अघि परीक्षणको रुपमा एक घण्टा थप गरी दिउँसो ४ बजेसम्म बजार सञ्चालन गरिएको थियो।

सीईओ साउदले सार्वजनिक सवारी सधान नचलेको, बैंक पनि बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म चलेको र निजी सवारी सधान जोर बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणको रुपमा राखिएको एकघण्टा हटाइएको बताए।

उनले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणको रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने बताए।

उनले दोस्रो बजार अब कुनैपनि अवस्थामा बन्द नहुने दाबी समेत गरे। दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने उनले बताए।

नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले सेयर कारोबार पछिको रकम अनलाइनमार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .