ad ad

कारोबार


उधारोमै बित्यो ट्याक्सी चालक शिवरामको लकडाउन

उधारोमै बित्यो ट्याक्सी चालक शिवरामको लकडाउन

वसन्त अर्याल
असार २८, २०७७ आइतबार ७:१८,

शिवराम सापकोटा ट्याक्सी चालक हुन्। ३७ वर्षका उनी ट्याक्सी चलाउन थालेको मात्रै करिब आठ वर्ष पुगेको छ। उनको पेशा भने पनि व्यापार भने पनि ट्याक्सी चलाउनु नै हो। यसअघि उनले निजी सवारी चलाउँथे।

उनलाई अरुको काम गरेर १८/२० हजार तलब खानुभन्दा आफैँले केही गर्नुपर्छ भन्ने लाग्यो। ट्याक्सी भाडामा लिएर आफैँ चलाउने सोच बनाए। उनको निर्णय नराम्रो पनि थिएन– जति हुन्छ, आफ्नै कमाइ हुन्छ।

साहुलाई दिनुपर्ने भाडा दिए बाँकी आफ्नो आम्दानी। जागिरदारको खप्की पनि खानु नपर्ने। उनले यसैमा सही देखे।

सामान्य अवस्थामा सापकोटाले दैनिक २५ सयदेखि ३ हजारजति कमाउँथे। साहुलाई त्यसबाट १ हजार दिनुपथ्र्यो। ७/८ सय रुपैयाँ तेलमा खर्च हुन्थ्यो। बाँकी हजार/बाह्र सय आफ्नो खल्तीमा। कहिले कम, कहिले बढी आम्दानी। जुन आफ्नै व्यवसाय गर्नेको हकमा स्वाभाविकै थियो।

त्यसो त सापकोटालाई आफ्नै गाडी चलाउने इच्छा नभएको होइन। तर निजी नम्बरप्लेटको गाडीमा कालो नम्बर प्लेट जडान गर्दा डबल खर्च लाग्ने भएकोले आँट गर्न सकेनन्।

उनी भन्छन्, ‘हामीले चलाइरहेको ट्याक्सी निजी प्रयोजनका लागि १६/१७ लाखमा आउँछ तर त्यसलाई ट्याक्सी बनाउनको लागि करिब ३० लाख पैसा तिर्नुपर्छ।’

जीवन निर्वाह गर्न अहिले उनलाई भाडामा ट्याक्सी लिएर चलाएर पुगेकै छ।

आठ वर्ष ट्याक्सी चालकको अनुभव बटुलिसकेका उनले चुनौती पनि उत्तिकै भोगेका छन्। सडक आन्दोलन, अवरोध यस्तै यस्तै। यस्ता आन्दोलनले उनको काम रोक्थ्यो। एक/दुई दिन नै ट्याक्सी थन्क्याउनुपथ्र्यो। रुट परिवर्तन हुन्थ्यो। प्रदर्शन वा आन्दोलनको समयमा कुन बाटो हिँड्ने, कुन नहिँड्ने, प्रहरीले सुझाव दिन्थे।

कहिलेकाहीँ वैकल्पिक बाटो प्रयोग गर्दै भए पनि उनी ट्याक्सीसँगै आफ्नो जिन्दगी चलाउँथे।

भूकम्प जाँदा पनि ट्याक्सी चलाउन दुई/तीन दिन मात्रै बन्द भएको थियो। तर कोभिड–१९ को लकडाउनले उनको सातो खायो। साढे तीन महिना ठप्पै भएको सायद अरुको लागि पनि पहिलो अनुभवै हुनसक्छ।

दैनिक मजदुरीमा निर्वाह चलाउने उनको हालत कस्तो भयो होला? सहजै अनुमान लगाउन सकिन्छ।

taxy andolan ktm lck 3

लकडाउन अनुभव
लकडाउन भएपछि सापकोटा कामविहीन भए। ‘घरमा बस्दा दिक्क लाग्थ्यो’, उनी भन्छन्, ‘अरु कम्पनीले त जागिरबाट धमाधम निकालिरहेका थिए, लकडाउनमा अरु काम पाउने त कुरै भएन।’

उनको चार जनाको परिवार छ। दुई छोरा, छोरी अनि श्रीमती। ट्याक्सी चल्नथालेको केही दिनमात्रै भएको छ। लकडाउन सकिएकै छैन। मासिक १० हजार घरभाडा तिरिरहेका उनले ४ महिनादेखि भाडा तिर्नसकेका छैनन्।

सरकारले घरभाडामा छुट दिन आग्रह गरेको त छ तर घरभेटीले भाडा छुट दिने अवस्था नै नभएको बताउँछन्। छोराछोरीको पढाइ पनि नभएपछि उनीहरुलाई गाउँमै छाड्न सिन्धुपाल्चोक हानिए।

लकडाउन केही दिन त हो नि भन्ने उनलाई लागेको थियो तर एक हप्ताको लागि भनेको लकडाउन लम्बिनथाल्यो। उनी जेठको अन्तिमसम्म घरमै बस्न बाध्य भए। जेठ २३ गते उनले लकडाउन खुकुलो हुने खबर सुने। त्यसपछि काममा फर्किन पाइने आशामा काठमाडौं आए। तर ट्याक्सी चलाउन पाएनन्।

सरकारले असार १ देखि निजी सवारी मात्र जोरविजोरमा खुलायो। रातो नम्बर प्लेटका गाडी चल्न थाले तर ट्याक्सी चल्न पाएनन्। कुनै–कुनै निजीले त राइड सेयरिङको नामबाट, फेसबुक ग्रुपबाट मानिससँग भाडा लिएर ट्याक्सीको काम गरिरहेका थिए।

निजी सवारीलाई दिने तर ट्याक्सीलाई चल्न नदिँदा उनको मन दुःखेको थियो।

ट्याक्सीले बिरामी बोकेर हस्पिटल जान आउन पाए पनि अन्य गन्तव्यमा भने जान पाउँदैनथे। अरु बेला हिँड्दा ट्राफिक प्रहरीले समाउने र साँझ मात्रै छाड्दिने गरिरहेका थिए।

‘छोराछोरीले पढ्न पाएनन्’
छोराछोरीको भविष्य राम्रो होस् भनेर काठमाडौंकै बोर्डिङ स्कुल पढाइरहेका थिए। विद्यालयले अनलाइन कक्षा लिनथाले तर उनका छोराछोरीले त्यसमा भाग लिन पाएका छैनन्।
‘अहिले खानाको लागि पैसा नभएको अवस्थामा कहाँबाट ल्यापटप किन्ने, कहाँबाट इन्टरनेट जोड्ने?’, उनले निराश हुँदै नेपालखबरसँग भने।

लकडाउनले एकपछि अर्को दुःख भोगिरहेका उनलाई स्कुलले छोराछोरीको फि माग्नथालेको छ। त्यो तिर्न अहिले उनीसँग पैसा छैन। अब खुलेपछि मात्रै स्कुलको सम्पर्कमा जाने विचारमा छन् उनी। लकडाउनको पनि पैसा मागे विद्यालय नै परिवर्तन गर्ने सोचमा पुगेका छन्।

‘उधारोमै बित्यो लकडाउन’
लकडाउनमा सरकारबाट कुनै राहत नपाएको उनी बताउँछन्। अहिले उनको परिवारको दैनिकी उधारोमै चलिरहेको छ। लकडाउनअघि किनेको मौज्दात दालचामलले यसमा ठूलै आड दिएको छ।

सरकारले ट्याक्सी चलाएबापत उनीजस्ताले कमाउने आम्दानीमा कर लगाउँछ। तर आपतमा केही राहत/सहयोग नपाउँदा खिन्न छन् उनी। ढिलै भए पनि शुक्रबारबाट ट्याक्सी चल्नदिने निणर्यमा भने उनी खुसी छन्।

भन्छन्, ‘अब घरखर्च उठ्नेछ। छोराछोरीका लागि किताब किन्न सकिनेछ। विस्तारै घरभेटीलाई पनि भाडा तिर्न सकिने आशा पलाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .