ad ad

कारोबार


साना ऋणीले समेत कर्जा पाउने गरी बन्यो पुनर्कर्जा कार्यविधि

साना ऋणीले समेत कर्जा पाउने गरी बन्यो पुनर्कर्जा कार्यविधि

नेपालखबर
साउन ६, २०७७ मंगलबार ११:३०,

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि बनाएको छ। बैंकमा कर्जा हुनेहरुको लागि कर्जा थप गरी सहुलियत दरमा कर्जा प्रदान गर्ने गरी नयाँ कार्यविधि बनाइएको हो।

उक्त कार्यविधि सार्वजनिक गर्दै राष्ट्र बैंकले यही २५ गतेदेखि वितरण गर्न बैंक तथा वित्तीय कम्पनीहरुलाई निर्देशन समेत दिएको छ।

पुनर्कर्जा कोषको मस्यौदालाई केही परिमार्जन गरेर कार्यविधि सार्वजनिक गरिएको हो। पहिले सीमित व्यक्तिहरुको पहुँचमा रहेको पुनर्कर्जालाई साना–साना ऋणीले समेत पाउने गरी राष्ट्र बैंकले परिमार्जन गरेको छ।

कार्यविधिअनुसार पुनर्कर्जाको ब्याजदर अधिकतम ५ प्रतिशतसम्म हुनेछ। विशेष पुनर्कर्जाको ब्याजदर भने ३ प्रतिशत मात्र हुने कार्यविधिमा उल्लेख छ।

punarkarja kar 1

पुनर्कर्जामार्फत नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ वितरण गर्नलागेको हो।

बैंकमा विद्यमान रहेको विकास कोषको रकम, सञ्चालक समितिले तोकेका बैंकका अन्य कोषको रकम, दातृनिकायबाट प्राप्त भई नेपाल सरकारबाट स्वीकृति प्रदान भएका रकम, नेपाल सरकारले प्रदान गरेको रकम जुटाएर १ खर्बको कोष राष्ट्र बैंकले निर्माण गरेको छ। उक्त रकम बैंकहरुमा प्रवाह गर्ने बैंकले ऋणीहरुलाई प्रदान गर्नेछन्।

यसरी प्रदान गर्ने पुनर्कर्जामा विभिन्न मापदण्ड बनाइनेछ। एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ। यस्तो कर्जा नवीकरण भने नहुने राष्ट्र बैंकले जनाएको छ।

ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ।

यस्तो छ पुनर्कर्जाको अवधि
बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड हुनेछ। यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुनेछैन।

punarkarja kar 2

बैंकले ग्राहकअनुसार मूल्याङ्कन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ। यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुनेछैन।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने राष्ट्र बैंकले जानकारी दिएको हो।

punarkarja kar 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .