ad ad

कारोबार


प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारीमा ‘नयाँ बसपार्क’

प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारीमा ‘नयाँ बसपार्क’

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १०:०,

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ। कोरोना संक्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले कोरोना संक्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो।

सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना संक्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउँछन्।

‘बसको टिकट लिन लाइन बस्दा कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेका छौँ’, उनले भने।

ल्होत्से बहुउद्देश्यीय प्रालिले विभिन्न यातायात कम्पनीको सहकार्यमा बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था यसअघि नै मिलाइसकेको छ। यात्रुको सहजताका लागि अनलाइनमार्फत समेत टिकट लिनमिल्ने व्यवस्था प्रालिले मिलाउन लागेको छ।

चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ। पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन्। उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएका छन्।

काठमाडौं महानगरपालिका–२६ मा १६१ रोपनी क्षेत्रफलमा सञ्चालन भई आएको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको हो। यसको पश्चिमतर्फ विष्णुमती करिडोर निर्माण भएको छ । विष्णुमती करिडोर विस्तारका क्रममा नयाँ बसपार्कको झण्डै १० रोपनी जग्गा गएको छ।

विसं २०५६ मा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी–साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो।

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुटै बसपार्कस्थल निर्माण गरिएको छ। नयाँ बसपार्कबाट उपत्यकाभित्रका केही सवारी साधन सञ्चालन भए पनि अधिकांश सवारी साधन भने सञ्चालनमा आएका छैनन्।

नयाँ बसपार्कले आगामी भदौ १ देखि सञ्चालन हुने सार्वजनिक सवारी साधन सरसफाइलाई विशेष प्राथमिकतामा राखेको छ। सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको संक्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाउनेछ। यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेछ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ। उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ।

काठमाडौंको गौशाला, कोटेश्वर, कलंकी, गोंगबुका मुख्य सडकबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन्। सबै सवारी साधनलाई एकै ठाउँबाट सञ्चालन गर्न सकिए कोरोना संक्रमण फैलने क्रममा कमी आउने देखिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .