ad ad

कारोबार


यसरी जुट्यो सनराइज बैंकमा सहमति, सिईओमा पौड्याल नै निरन्तर

यसरी जुट्यो सनराइज बैंकमा सहमति, सिईओमा पौड्याल नै निरन्तर

दीपक भट्ट
साउन १५, २०७७ बिहिबार १५:१७,

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यशैलीबारे संचालक समितिका सदस्यले प्रश्न उठाएपछि सुरु भएको विवादमा सहमति जुटेको छ।

सीईओ जनकराज शर्मा पौड्यालले अध्यक्षसँग मात्रै परामर्श गरी बैंकका हरेक निर्णय गरेको भन्दै संचालक समिति सदस्यहरुले उनलाई हटाउन खोजेपछि बल्झेको विवादमा बिहीबार सहमति जुटेको हो।

बिहीबार बसेको संचालक समितिको बैठकले हालको व्यवस्थापन पक्ष सबै र संचालक समितिलाई पनि निरन्तरता दिने सहमति गरेको हो।

संचालक समितिका अध्यक्ष मोतिलाल दुगडका अनुसार सीईओसम्बन्धी विषयलाई लिएर संचालक समितिमा विवाद भएको थियो।

त्यस विषयलाई लिएर बिहीबार समितिको बैठक समेत बसेको थियो। उक्त बैठकले हालकै सीईओ पौड्याललाई नै निरन्तरता दिने निर्णय गरेको हो।

‘आज भएको लामो बैठकले सीईओ पौड्याललाई निरन्तरता दिने वा अवकास दिने विषयमा छलफल भएको थियो। तर हटाउनु नै समाधान नरहेको निष्कर्ष निस्किएपछि निरन्तरता दिने सहमति भएको छ,’ अध्यक्ष दुगडले नेपालखबरसँग भने।

यो समस्या बाहिरबाट हेर्दा जति जटिल देखिए पनि त्यहि अनुसारको जटिलता भने नभएको उनले बताए।

‘हाम्रो पारिवारिक झगडा जस्तै हो, कुनै विषयको निर्णय लिँदा सबैलाई संलग्न गराउन नसकेको विषयलाई लिएर सामान्य किसिमको विवाद तन्किएर सीईओको पदसम्म आएको थियो,’ उनले भने, ‘अहिले सबै संचालकहरु सन्तुष्ट भएका छन्। यतिबेला झगडा गर्ने भन्दा काम गर्ने समय भएको भन्नेमा सबैको जोड रहेपछि सहमति गर्ने बाटो देखिएको थियो।’

कसरी पुग्यो त पौड्याललाई हटाउनेसम्म कुरो
सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड र सीईओ पौड्यालको मात्रै सहमतिमा हरेक निर्णय हुने गरेको भन्दै अर्का संचालक मालचन्द्र दुगडले गत ६ महिनादेखि असन्तुष्टी व्यक्त गर्दै आएका थिए।

उनको त्यो असन्तुष्टिलाई केहि समययता सञ्चालक समितिका अन्य सदस्यहरु शैलेन्द्र गुरागाई, ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, बच्छराज तातेडले समेत साथ दिएका थिए।

खासगरी लकडाउनको समय पनि सबै संचालकले अध्यक्ष र सीईओको विषयलाई लिएर असन्तृष्टि देखाएका थिए।

यहि क्रममा साउन ४ गते संचालकहरुले अध्यक्ष दुगडलाई पत्र लेख्दै सीईओलाई हटाउनुपर्ने बताएका थिए।

सबै संचालकहरुको हस्ताक्षरमा आएको उक्त पत्रको आधारमा साउन ८ गते अध्यक्षले सीईओलाई स्पष्टिकरण सोधेका थिए।

के थियो स्पष्टिकरणमा
अध्यक्ष दुगडले पाँचजना संचालकहरुले सिइओ पौड्यालको क्षमतामाथि नै प्रश्न गरी स्पष्टिकरण सोध्न भनिएको हुँदा आफूले सोहिअनुसार गरेको बताएका थिए।

‘उनीहरुले उठाएको विषय गम्भीर देखिएको छ। जस कारणले गर्दा तपाईलाई पदबाट किन अवकास नदिने हो?’ पत्रमा लेखिएको छ।
अवकास दिनुनपर्ने कुनै आधार, कारण भए सो प्रमाण र चित्तबुझ्दो जवाफसहित ३ दिनभित्र जवाफ पेश गर्न पत्रमा भनिएको छ।

कसरी भयो सहमति?
उक्त पत्रको आधारमा सीईओ पौड्यालले स्पष्टिकरण दिएका थिए। तर सहमति जुट्नुमा भने नेपाल राष्ट्र बैंकले समेत भूमिका खेलेको थियो।

बैंकमा सर्वसाधारणको समेत लगानी र निक्षेप तथा कर्जा हुने भएकोले आमजनतालाई असर पर्ने स्थिति भएको खण्डमा राष्ट्र बैंकले कुनै बैंकको व्यपस्थापकीय विषयमा हस्तक्षेप गर्नसक्ने कानुनी व्यवस्था छ।

सनराइज बैंकको विवादको विषयमा पनि नेपाल राष्ट्र बैंकले संचालहरुलाई बोलाएर छलफल गरेको थियो। तीन दिनअघि भएको छलफलले सहमति जुटाउन भूमिका खेलेको थियो।

राष्ट्र बैंकसँगको छलफलमा सनराइज सञ्चालक समितिका सबैजना सन्तुष्ट देखिएपनि एकजना सञ्चालक ओमकृष्ण जोशीले भने विरोध जनाएका थिए।

त्यसपछि बिहीबारको सीईओलाई निरन्तरता दिने सञ्चालक समितिको निर्णयमा पनि उनी मौन रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .