ad ad

समाज


बर्दिया र कैलालीका सयौं घर डुबानमा

बर्दिया र कैलालीका सयौं घर डुबानमा

नेपालखबर
साउन १५, २०७७ बिहिबार १५:१५,

तीन दिनदेखिकाे अविरल वर्षाका कारण कैलाली र बर्दिया जिल्लामा दर्जनाै‌ं गाउँहरु डुबानमा परेका छन्।

कर्णाली र बबई नदीमा पानीको बहाव बढेसँगै दुवै जिल्लातर्फका सयाैं घर डुबानमा परेका छन् भने अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रसमेत डुबानमा परेकाे छ।

बर्दियामा मात्रै ५०० घर डुबानमा परेका स्थानीय प्रशासनले जनाएको छ। तीन दिनदेखि अविरल वर्षा भएकाले यहाँका बासिन्दा रातभर त्रासमा बसिरहेका छन्। बर्दियाको राजापुर नगरपालिकाका ४०० घर डुबानमा परेपछि त्यहाँका मानिसहरु विस्थापित भएका छन्। राजापुर नगरपालिका डुबानमा परेको र त्यहाँका स्थानीयवासीलाई सुरक्षित राख्न बुद्ध आधारभूत विद्यालयमा सारिएको नगरप्रमुख शिवप्रसाद थारुले जानकारी दिए।

बर्दियाका नदी आसपासका अन्य ७५ घर डुबानमा परेको र त्यहाँ बस्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। उनका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं ७ बठनपुरलगायत क्षेत्र डुबेपछि २५ घरपरिवार विस्थापित भएको छ। उनीहरुलाई वडा नं ८ को जगदम्बा माविमा उद्धार गरेर राखिएको ठाकुरबाबा नगरउपप्रमुख कृष्णाकुस्मा थारुले जानकारी दिदिइन्।

यता, मंगलबारदेखिको वर्षा नरोकिपछि धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनौ‌ं बढी घर डुबानमा परेका छन्।

धनगढीको मालिका टोल, शिवनगर, कृष्णनगर, विशालनगर, मिलनचोक, उत्तरबेहडी, पुरानो भन्सार गाउँको दक्षिण पट्टीको बस्तीलगायतका अधिकांश घर तथा पसलभित्र पानी पसेर स्थानीयवासीको जनजीवनसमेत प्रभावित बनेको छ।

1_1_1.jpg

धनगढी– २ मालिका टोलकी स्थानीय पार्वतीदेवी भट्टले घरभित्र पानी पसेर बस्न समस्या भएपछि छिमेकीको घरमा राति बास बस्नुपर्ने बाध्यता सुनाइन्।

‘सडक र नाली पूरै भरिएर घर डुबानमा परेको छ। घरभित्र दुई फिटजति पानी जम्मा भएर खाद्यान्न, लुगाकपडा भिजेका छन् भने खाना पकाउन समस्या भएको छ’ उनले भनिन्, ‘गोठका पशुचौपायासमेत सडक छेउछाउमा डोर्‍याएर राखेका छौँ।’

वर्षौंदेखि पानीको निकासा हुने गरेका पुराना खोल्सा, कुलेशालगायतका भू–भाग अतिक्रमण गरेर बनाइएका घर तथा पूर्वाधार निर्माण हुनेक्रम बढेसँगै पानीको निकास हुने बाटो रोकिएकाले पनि हरेक वर्ष यहाँका बस्ती डुबानको चपेटामा पर्ने गरेका छन्। पानी निकास हुने नालाको व्यवस्थापन नभई सडक कालोपत्र हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको धनगढीको विशालनगरका भोजराज जोशीको भनाइ छ। उनले विशालनगर वर्षौंदेखि डुबान हुँदै आइरहेको क्षेत्र भएकाले डुबानको मुक्तिबाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको बताए।

यहाँ बजार आसपासका बस्ती मात्रै नभई मुख्य बजारका सडक पनि जलमग्न छ। एलेनचोक, रातोपुल, चटकपुर, शहीदगेट, प्रदेशसभा भवन अगाडी, पार्कमोडस्थल, विशालनगरलगायतका मूल सडकमै पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ। स्थानीयवासीका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन्।

त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको यहाँका अगुवाको भनाइ छ। बुधबारदेखिको लगातारको वर्षा नरोकिएपछि वडा नं २ र ३ का दक्षिणका बस्ती नजिकै रहेको मोहना नदीको सतह बढेर गाउँमा फर्कने यहाँका स्थानीयवासीको चिन्ता छ। उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुबानको समस्या वर्षेनी दोहोरिने गरेको छ।

धनगढी क्षेत्रमा विशेषगरी कैलाली नाला र सुकुटी नाला सबैभन्दा बढी अतिक्रमणमा परेका छन्। यी प्राकृतिक नाला अतिक्रमण हुँदा धनगढीका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .