ad ad

कारोबार


डिजिटल पेमेन्टमा अर्को ‘प्लेयर’ थपिँदै, नेपाल टेलिकम र वाणिज्य बैंकले सुरु गरे तयारी

डिजिटल पेमेन्टमा अर्को ‘प्लेयर’ थपिँदै, नेपाल टेलिकम र वाणिज्य बैंकले सुरु गरे तयारी

सन्तोष न्यौपाने
साउन २१, २०७७ बुधबार १२:२३,

मुलुकमा डिजिटल पेमेन्ट कम्पनीबीच तीव्र प्रतिस्पर्धा भइरहेको बेला अर्को ठूलो ‘प्लेयर’ थपिने भएको छ।

नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा ‘नेपाल डिजिटल पेमेन्ट कम्पनी’ सञ्चालन गर्ने प्रक्रिया सुरु भएको छ।

दुई ठूला संस्थाहरुले संयुक्त रुपमा सञ्चालन गर्नलागेको यस मोबाइल वालेटले बजारमा प्रभावकारी रुपमा हस्तक्षेप गर्ने आँकलन छ। अहिले मुलुकमा १४ वटा यस्ता मोबाइल वालेट भए पनि झण्डै आधा दर्जनजति देखिने गरी बजारमा उपस्थित छन्।

नेपाल राष्ट्र बैंकबाट आशयपत्र (एलओआई) प्राप्त गरेसँगै नेपाल टेलिकमले नेपाल डिजिटल पेमेन्ट कम्पनीको अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत नियुक्त गरेको छ।

नेपाल टेलिकमको सब्सिडरी कम्पनीका रुपमा रहेको यो कम्पनीको बुहमत सेयर टेलिकमको रहनेछ।

नेपाल सरकारले सरकारका सम्पूर्ण कारोबारलाई विद्युतीय भुक्तानीमा लैजाने र ‘क्यासलेस’ समाज निर्माण गर्ने नीति अगाडि सारेसँगै सरकारी लगानीकै ठूलो मोबाइल वालेट कम्पनी आउनलागेको हो।

‘यो मोबाइल फाइनान्सिङ सेवा हो’, नेपाल टेलिकमले भर्खर मात्र सीईओमा नियुक्त गरेका कृष्णप्रसाद भण्डारीले भने, ‘यो मोबाइल वालेट हो। अलिकति फराकिलो दायरा बनाएर बनाउन खोजेका छौँ।’

सीईओ नियुक्त गरेसँगै दुवै संस्थाका केही कर्मचारीहरुलाई भर्ना गरेर काम अगाडि बढाइएको छ। बजारमा रहेका मोबाइल वालेटकै स्वरुपमा कम्पनी आउने भए पनि यसमा थप के–के सुविधा थप्न सकिन्छ भनेर गृहकार्य सुरु भएको भण्डारीले बताए।

यस कम्पनीले असारको अन्तमा नेपाल राष्ट्र बैंकबाट एलओआई पाएको थियो। एलओआई पाएको ६ महिनाभित्र कम्पनी दर्ता गरेर सञ्चालनको प्रक्रिया सुरु गर्नुपर्छ।

कम्पनी खडा भएसँगै आन्तरिक तयारी सुरु भएको छ। सिस्टमहरु तयार गर्दै जाँदा केही समय लाग्ने तर ‘टाइमलाइन’भित्र सेवा सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए।

नेपाल टेलिकमको बहुमत सेयर भए पनि यसलाई एक स्वतन्त्र कम्पनीको रुपमा चलाउने तयारी छ। नयाँ टिम बनाएर सेवा सञ्चालन हुँदा नयाँ सीईओ पनि आउनसक्ने टेलिकमले जनाएको छ।

यसैबीच, टेलिकमले मोबाइल मनी सेवा सञ्चालन गर्न मंगलबार नै अन्तर्राष्ट्रियस्तरको बोलपत्र समेत आह्वान गरेको छ।

मोबाइल फाइनाइन्सियल सोलुसनको सप्लाई, डेलिभरी, इन्स्टलेसन र कमिसनिङ कार्यका लागि असोज २ भित्र अन्तर्राष्ट्रियस्तरको बोलपत्रदाताले सिलबन्दी बोलपत्र आवेदन बुझाउनुपर्नेछ।

गत वर्ष वैशाखमा राष्ट्रिय सूचना प्रविधि दिवसको दिन नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

नेपाल टेलिकमले आफ्नो व्यवसायलाई विविधता गर्दै जाने प्रयासअन्तर्गत मोबइल सेवा कम्पनी ल्याइएको जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म विद्युतीय भुक्तानीसम्बन्धी २३ वटा कम्पनीले अनुमतिपत्र लिएका छन्। जसमा मोबाइल वालेटका रुपमा १४ र भुक्तानी प्रणाली सञ्चालकका रुपमा ९ वटाले अनुमतिपत्र लिएका छन्।

त्यस्तै, राष्ट्र बैंकमा अनुमतिपत्र लिनको लागि आवेदन दिनहरुको संख्या झन्डै एक दर्जन छ। ८ वटाले एलओआई लिएर बसेका छन्।

नेटटिभीको पनि अन्तिम तयारी
नेपाल टेलिकमले आफ्नो व्यवसायलाई विविधीकरण गर्दै जाने योजनाअन्तर्गत विभिन्न भ्यालु एडेड सर्भिस पनि सञ्चालन गरिरहेको छ। यसअन्तर्गत मोबाइल वालेटसँग नेट टिभी सञ्चालनको तयारी गरिरहेको छ।

नेटटिभी सञ्चालन गर्ने पार्टनरको रुपमा रहेको कलर्सले साउनको पहिलो हप्ता अनुमतिपत्र पाएको छ। अनुमतिपत्र प्राप्त गरेसँगै नेटटिभी सञ्चालनको प्रक्रिया अगाडि बढेको टेलिकमले जनाएको छ।
टेलिकमले आफ्नो एफटीटीएच सेवाबाट इन्टरनेटसँगै टिभीको सेवा दिनलागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .