उदाहरण नं. १
बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित डिजी टेलरिङ सेन्टरकी सञ्चालक सीता सुनाम र उनका श्रीमान् बुद्धले सिलाइकटाइ व्यवसाय गर्छन्।
सिलाइकटाइबाट पारिवारिक खर्च मात्रै चलाउँदै आएका दम्पतीले सिलाइ मेसिन थपेर व्यवसायलाई ठूलो गराउन खोजे। तर थप लगानी र धितो राख्ने केही नहुँदा समस्या पर्यो। सुकुम्बासीमा रहेको जमिनको लालपुर्जा नहुँदा बैंकले धितो लिँदैन। सीताकी छिमेकी साथीले कृषि विकास बैंकले व्यवसाय गर्न चाहने र गरिरहेकालाई विना धितो कर्जा दिन्छ भन्ने सुनाइन्।
त्यसपछि बैंकमा गएर सीताले विना धितो ७ लाख रुपैयाँ ऋण लिइन् र ४ वटा सिलाइ मेसिन थप गरेर अहिले व्यवसायलाई ठूलो गनाएकी छन्। अहिले भने आम्दानी राम्रो हुनथालेको छ। भन्छिन्, ‘धितो नहुँदा व्यवसाय थप ठूलो गराउन सकिएको थिएन। हाम्रो साथी कृषि विकास बैंक बन्यो। अहिले व्यवसाय राम्रो छ। कोरोनाले डिस्टर्व गरे पनि पहिलेभन्दा धेरै चलेको छ। ४/५ जनालाई रोजगारी पनि दिएका छौँ।’
उदाहरण नं. २
बुटवलकै सुख्खानगरमा रहेको श्रेया मार्टकी सञ्चालक लक्ष्मी केसी छोराछोरी पढाउन ७ वर्षअघि अर्घाखाँचीबाट बुटवल झरिन्। श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनको ७ वर्ष छोराछोरी हुर्काउनमै बित्यो। श्रीमान् विदेशबाट फर्किए। कमाएर ल्याएको पैसामा थप गरी व्यवसाय गर्ने सोच बनाएकी लक्ष्मीले आफन्तको सुझावअनुसार कृषि बैंकबाट १० लाख विना धितो ऋण लिइन्। अहिले किराना पसल सञ्चालन गरेर राम्रो आम्दानी भइरहेको छ।
‘केही गर्छु भन्नेलाई सरकारले धेरै सुविधा दिएको छ। लामो समय जानकारी नहुँदा खाली बसेँ। अहिले व्यवसाय गर्न लागेपछि धेरै कुराहरु सहज भएको छ’, उनले भनिन्, ‘महिलाहरु गृहिणी भएर मात्रै बस्नुभन्दा केही न केही उद्यम गर्नुपर्छ। आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्छ। आँट भए पैसाको अभाव हुने रहेनछ।’
उनले आफूजस्ता गृहिणी र केही गरौँ भन्ने सोच र जाँगर भएका महिलालाई अवसरै अवसर भएको सुनाइन्। उनी भन्छिन्, ‘कोही पनि खाली बस्नुहुँदैन, अझ महिलाहरु त उद्यमसँग जोडिनैपर्छ।’
उदाहरण नं. ३
बाग्लुङबाट आएर तिलोत्तमा नगरपालिकामा भैंसीपालन व्यवसाय गरिरहेका गणेशबहादुर न्यौपानेले ऋण लिन विभिन्न बैंक धाए। कतैबाट विना धितो ऋण नपाएपछि आफन्तको सल्लाहअनुसार कृषि बैंकमा गई विना धितो १० लाख ऋण लिएर भैंँसी थप गरे। अहिले उनको फार्ममा ११ भैँसी र ३ वटा गाई छन्। अहिले उनको आम्दानी पनि बढेको छ।
उनी भन्छन्, ‘प्राइभेट बैंकमा सब्सिडी छैन, व्यवसाय बढाउन चाहेँ तर मसँग लिजमा लिएको फार्मबाहेक अरु धितो राख्ने केही थिएन। प्राइभेट बैंकले ऋण दिएनन्, कृषिले दियो, भैँसी थप गरे, आम्दानी बढेको छ।’
धितो नभएका र केही गर्छु भन्नेका लागि धेरै अवसर भएको केसी र न्यौपानेको अनुभव छ। खाली बस्नभन्दा केही न केही उद्यमसँग जोडिन उनीहरु अरुलाई पनि आग्रह गर्छन्।
सुनाम, केसी र न्यौपाने प्रतिनिधि पात्र मात्रै हुन्। विना धितो ऋण लिएर उनीहरुजस्ता धेरै जना उद्यमी बनेका छन्। सरकारले २०७३ सालबाट विना धितो ऋण दिन सुरु गरेको हो तर सुरुका वर्षमा कार्यान्वयन फितलो भए पनि अहिले भने कार्यान्वयन हुनथालेको छ।
कृषि विकास बैंकले महिलालाई १५ र अन्यलाई १० लाखसम्म विना धितो ऋण प्रवाह गर्दै आएको छ। तर यसबारे धेरैलाई थाहा छैन। केही व्यवसाय गर्छु भन्ने कयौँ छन्। तर पुँजी नहुँदा युवापुस्तादेखि सबै वर्गका महिला पुरुष समस्यामा पर्ने गरेका छन्। अझ धेरै महिलाहरु त गृहिणीमै सीमित छन्। यस्तो अवस्थामा लुम्बिनी (प्रदेश ५) अन्तर्गत साविक लुम्बिनी अञ्चलमा पर्ने ६ जिल्लाका १४२ जना महिलापुरुषले कृषि विकास बैंकबाट विना धितो ऋण लिएर उद्यम गरिरहेका छन्।
लगानी जोखिम देखेपछि निजी बैंकहरुले विना धितो ऋण दिन आनाकानी गर्छन्। सरकारी र प्राइभेट सबै बैंकलाई राष्ट्र बैंकले विना धितो ऋण दिन निर्देशन गरेको छ। प्राइभेट बैंकले आफन्त र पहुँच भएकालाई मात्रै प्राथमिकतामा राख्ने गर्छन्। त्यसैले उद्यम गर्न चाहने धेरै कृषि विकास बैंकमा पुग्छन्।
लगानी जोखिमका बीच पनि बैंकले उद्यम गर्न चाहनेहरुको योजना बुझेर ऋण दिने गरेको कृषि बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापा बताउँछन्।
‘लगानी जोखिम उत्तिकै हुन्छ तर हामीले ऋण लिन आउनेको वास्तविक अवस्था बुझेर लगानी गर्छौँ, धेरै जना यहाँबाट विना धितो ऋण लिएर उद्यम गर्नुभएको छ। उहाँहरुको प्रगति हेर्दा निकै खुसी लाग्छ’, उनले भने।
विना धितो ऋण लिन धितो राख्ने केही नभएको, केमा लगानी गर्ने हो, त्यसको विस्तृत विवरण र वडाको सिफारिस चाहिन्छ। कृषि बैंक प्रादेशिक कार्यालयका अनुसार साबिक लुम्बिनी अञ्चलका ६ जिल्लाका शाखाहरुबाट विना धितो ऋण लिएकाले उद्यम गरी मनग्य आम्दानी गर्दै आएका छन्।
निजी बैंकले पनि सहजै विना धितो ऋण दिने हो भने केही गर्छु भन्ने अठोट र योजना भएका कोही पनि व्यक्ति यत्तिकै खाली बस्नुपर्दैन। बरु विना धितो ऋणबारे जानकारी भएकाले थाहा नभएकालाई भनेर सहयोग गर्नुपर्ने केसी बताउँछिन्।
प्रतिक्रिया