ad ad

कारोबार


सरकारको विदेशी मदिरा मोह : नेपाली उद्योगको क्षमता विस्तारमा रोक

सरकारको विदेशी मदिरा मोह : नेपाली उद्योगको क्षमता विस्तारमा रोक

दीपक भट्ट
असोज ३०, २०७७ शुक्रबार १४:१६,

हाल नेपालमा साना ठूला गरी ५० वटा हाराहारीमा मदिरा उद्योगहरु छन्। केही वर्षसम्म विदेशी मदिराको राम्रो बजार रहेको नेपालमा अहिले स्वदेशी मदिराको समेत माग आउन थालेपछि सबै मदिरा उद्योगहरुले आफ्नो क्षमता र पूँजी वृद्धि गर्न चाहिरहेका छन्।

तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने मदिरा उद्योगहरुको क्षमता विस्तार गर्ने काम हाल रोक्न उद्योग विभागलाई निर्देशन दिएको छ।

उद्योगको क्षमता विस्तार, पूँजी वृद्धि स्वीकृत गर्ने निकाय उद्योग विभाग हो। तर दुई वर्षअघि आएको औद्योगिक व्यवसाय ऐनले मदिरा उद्योगको पूँजी वृद्धि गर्ने अधिकार सिधै उद्योग विभागलाई दिएको छैन। औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले पारित गराउनुपर्ने व्यवस्था छ।

यो बोर्ड उद्योग सचिवको नेतृत्वमा रहेको हुन्छ। त्यसको सदस्यसचिव उद्योग विभागको महानिर्देशक रहने व्यवस्था छ। यो बोर्डको बैठकले नै मदिरा उद्योगको क्षमता विस्तार गर्ने निर्णय गर्न सक्छ। 

तर नयाँ मदिरा उद्योग सञ्चालनको लागि त मन्त्रिपरिषदले नै निर्णय गर्नु पर्छ। नयाँ दर्ता तथा क्षमता विस्तार दुवैको लागि आवेदन गर्ने स्थान भने उद्योग विभाग नै हो। त्यसका लागि उद्योग विभागले सिफारिस गर्ने गर्छ।

अहिले मदिरा उद्योगको क्षमता विस्तार, पूँजी वृद्धि गर्नको लागि २० वटा हाराहारीमा आवेदन परेका छन्। तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई बोर्डको बैठकमा मदिरा उद्योगको प्रस्ताव नै नराख्न भनेको छ। विभागका एक अधिकारीका अनुसार मन्त्रालयले मौखिक रुपमा उद्योग विभागको उद्योग दर्ता शाखालाई उक्त निर्देशन दिएको हो।

अहिले नेपाल सरकारले नयाँ उद्योग खोल्नको लागि अनुमति दिने काम पनि रोकेको छ र क्षमता वृद्धि, पूँजी वृद्धि गर्ने काम पनि रोकिएको छ।

मदिरा उद्योगको क्षमता वृद्धि गर्न किन रोकियो?
मदिरा उद्योगको क्षमता वृद्धिको काम रोकिएको भने धेरै भएको छैन। दुई महिनाअघि मात्रै गोर्खा ब्रुअरीको नयाँ इकाई खोल्नको लागि बोर्डले अनुमति दिने निर्णय गरेको थियो।

गोर्खा ब्रुअरीसँगै आएका अरु आवेदनलाई भने अहिले रोकिएको छ। यसरी राेकेर सरकारले विदेशी मदिरालाई प्रश्रय दिन चाहेको विभागका ती अधिकारी बताउँछन्।

केहि समय विदेशी मदिरा आयात रोकिएको थियो। यो बीचमा स्वदेशी मदिरा उद्योगहरुले क्षमता वृद्धि गर्न चाहेको भन्दै आवदेन दिने क्रम पनि बढेको थियो। तर आयातकर्ता व्यावसायीकाे चर्को दवावपछि मन्त्रालयले खोलिदिएको छ। आयातकर्ताको प्रभावमा परेर स्वदेशी उद्योगलाई क्षमता विस्तारमा रोक लगाएको हुनसक्ने ती अधिकारी बताउँछन्।

विदेशी मदिरा आयात प्रतिबन्ध फुकुवा : दुई औद्योगिक ग्रुपले कसरी मिलाए सेटिङ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .