ad ad

कारोबार


५३ वर्षपछि जनकपुर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन

५३ वर्षपछि जनकपुर विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन

शैलेन्द्र महतो
मंसिर २३, २०७७ मंगलबार १४:१३,

जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर प्रयोगमा आएको छ। शिलान्यास भएको झण्डै आठ वर्ष पश्चात नयाँ टर्मिनल भवन निर्माण कार्य सम्पन्न भएको हो।

कुल ४५ करोडको लागतमा निर्मित नयाँ टर्मिनल भवनको मंगलबार एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन्। समारोहमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको समेत उपस्थिति रहेको थियो।

जनकपुर विमानस्थलले १८ जना यात्रु बोक्ने जहाजका लागि विसं २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिँदै आएको थियो। नव निर्मित अत्याधुनिक टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको विमानस्थलका वरिष्ठ अधिकृत विकास कुमार झाको भनाइ छ। उनका अनुसार अब पहिले जस्तो विमानस्थलमा यात्रु बस्न समस्या हुने छैन।

जनकपुर विमानस्थलमा नियमित तीनवटा विमानले सेवा दिँदै आएका छन्। अधिकृत झाका अनुसार बुद्ध एयर दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौं उडान भर्दै आएका छन्।

जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले अब विमानस्थलको धावनमार्ग पनि विस्तार गर्ने बताए। वर्तमानमा रहेको १३ सय मिटरको धावनमार्गलाइ १५ सय मिटर पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।

नयाँ टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको छ।

वि.स. २०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा टर्मिनल भवनको शिलान्यास गरेका थिए।

डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०६९ असोज १५ मा सम्झौता भएको थियो। तर नागरिक उड्डयन प्राधिकरणको वेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण आठ वर्ष पश्चात मात्र तयार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .