२०७२ को भूकम्पका कारण ढलेको धरहराको भौतिक प्रगति करिब ५० प्रतिशत पूरा भएको छ।
धरहरा ठेक्का पाएको रमन कन्स्ट्रक्सनले २०७५ कात्तिकदेखि यसको निर्माण सुरु गरेको थियो। हालसम्म ४१ प्रतिशत मात्रै वित्तीय खर्च भएको आयोजनाले बताएको छ।
‘हालसम्म ५० प्रतिशत भौतिक प्रगति र ४१ प्रतिशत वित्तीय प्रगति भएको छ’, धरहरा निर्माणका प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठले भने, ‘२२औँ तलाको धरहरामा २० तलाको काम भइरहेको छ।’
श्रेष्ठका अनुसार २० तलामा काठमाडौंको दृश्य हेर्न मिल्ने गरी ‘बाल्कोनी’ बन्नेछ। त्यसपछि माथि दुईतला निर्माण भएपछि काम सकिनेछ। धरहरासँगै पार्किङ, पर्खाललगायतको काम पनि भइरहेको उनले बताए।
यसमा ४ सय वटा सानो गाडी र ७ सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ।
निर्माणाधीन धरहराको निर्माण अवधि सकिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते नौ महिनाको समय थप गरेको थियो।
प्रोजेक्ट म्यानेजर इन्जिनियर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए।
२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।
भिडियाे -
प्रतिक्रिया