प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग डराएर प्रचण्ड–नेपाल पक्ष चुनावमा जान नचाहेको दाबी गरेका छन्।
जनताले कारबाही गर्छन् भनेर डराएर उनीहरु नयाँ जनादेशमा जान डराएको उनको दाबी थियो।
आफू पक्षका केन्द्रीय सदस्यलाई बालुवाटारमा सम्बोधन गर्दै उनले पार्टीको अर्को पक्षको आलोचना गरेका हुन्।
देश विगार्नेलाई जनताले सजायँ दिन्छन् भनेर अर्को पक्ष चुनावमा जान डराएको आरोप समेत लगाए।
प्रचण्ड–नेपाल पक्षको आजै बबरमहलमा बसेको बैठकले सरकारविरुद्ध गरेको आन्दोलनको पनि खिसिटिउरी गरेका थिए।
प्रचण्ड–नेपाल समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ।
‘आन्दोलनको कस्तो हुन्छ भनेर समिति र संयोजक देखेरै थाह पाइयो,’ ओलीले भने।
श्रेष्ठलाई न कहिल्यै आन्दोलन गरेको न जनयुद्ध लडेको भन्दै त्यस्तो व्यक्तिले नेतृत्व गरेको आन्दोलनले केहि गर्न नसक्ने उनको दाबी थियो।
ओलीले पछिल्लो समय चालेका कदमका कारण उनले संघीय प्रणाली नै ध्वस्त पार्न खोजेको आवाज उठेपछि उनले आफ्नो त्यस्तो मनसाय नभएको स्पष्टीकरण दिएका थिए।
‘हामी संघीयता र धर्म निरपेक्षताप्रति प्रतिबद्ध छौं,’ उनले सो बैठकमा भने।
प्रतिक्रिया