ad ad

कारोबार


गाडी किन्न बैंकबाट कतिसम्म पाइन्छ कर्जा? यस्तो छ ब्याजदर

गाडी किन्न बैंकबाट कतिसम्म पाइन्छ कर्जा? यस्तो छ ब्याजदर

वसन्त अर्याल
माघ १६, २०७७ शुक्रबार ७:१,

कुन बैंकले कतिसम्म ऋण दिन्छ? कति अवधिको लागि ऋण दिन्छ? ब्याजदर कति हुन्छ ? सवारी खरिद गर्ने हरेकलाई चासो रहेको हुन्छ।

नेपालमा डिजेल/पेट्रोलका निजी सवारीसाधन (प्यासेन्जर भेहिकल)मा गाडीको मूल्यको ५० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने, विद्युतीय गाडीमा ८० प्रतिशतसम्म लगानी गर्न पाउने नियामक राष्ट्र बैंकको नीति छ।

तर सार्वजनिक यातायात बस, ट्रक (कमर्सियल भेहिकल)मा राष्ट्र बैंकले मापदण्ड नतोक्दा बैंकहरुले आफूअनुकूल ऋण लगानी गर्दै आएका छन्।

अधिकांश बैंकले ७० प्रतिशतसम्म कमर्सियल भेहिकलमा ऋण उपलब्ध गराउँदै आएका छन्। कुनै गाडी बिक्रेता कम्पनीले बैंकसँग सम्झौता गरी ७५ प्रतिशतसम्म ऋण लगानी गर्ने व्यवस्था गरेका छन्।

बैंकहरुले ऋण लगानी गर्दा ५ वर्षदेखि १० वर्ष अवधिको लागि ऋण प्रवाह गर्दै आएका छन्। सामान्यतया बैंकहरुले बेसरेटमा ५ प्रतिशत प्रिमियम चार्ज लिँदै ऋण दिने गरेका छन्।

उदाहरणको लागि पुस महिनाको नबिल बैंकको बेसरेट ५.७६ प्रतिशत छ। बैंकले विद्युतीय गाडीमा ४ प्रतिशत प्रिमियम जोडेर बढीमा ९.७६ प्रतिशतमा ऋण प्रवाह गरिरहेको छ भने डिजेल÷पेट्रोल गाडीको लागि ५ प्रतिशत प्रिमियम जोड्दा १०.७६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ।

निजी सवारीको लागि बैंकले ८ लाखसम्म ऋण उपलब्ध गराउँदै आएको छ। ७ वर्ष अवधिको लागि अटोलोन प्रदान गर्ने नबिल बैंकको ऋण मासिक किस्तामा तिर्न सकिन्छ।

नबिलले कमर्सियल भेहिकलमा ५ वर्षको लागि ८० लाखसम्म बैंकले ऋण उपलब्ध गराउँछ। मूल्यको ७० प्रतिशतसम्म बैंकले लागानी गर्ने उल्लेख गरेको छ। रि–कन्डिसन गाडीको लागि भने ३० लाखसम्म ऋण दिने गरेको छ। गाडीको मूल्यांकनपश्चात् ५० प्रतिशतसम्म ऋण उपलब्ध गराउँछ।

अटो लोनमा एनआईसी एसिया बैंकले स्थिर ब्याजदरमा समेत ऋण उपलब्ध गराउँदै आएको छ। बैंकले ५ वर्ष अवधिको स्थिर ब्याजदरमा १३ प्रतिशत ब्याजदर लिँदै आएको छ। ७ वर्षको लागि १३.५० प्रतिशत र १० वर्षको लागि १४ प्रतिशत रहेको बैंकले उल्लेख गरेको छ। बैंकको ब्याजदर बीचमा तलमाथि हुँदैन।

सिद्धार्थ बैंकले स्थिर ब्याजदरमा अटो लोनमा ९.४९ प्रतिशत ब्याजदर लिँदै आएको छ भने ५ वर्ष बढी अवधिको लागि ९.९९ प्रतिशत ब्याजदर रहेको बताएको छ। मंसिरमा सिद्धार्थ बैंकको बेसरेट ७.५६ प्रतिशत रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले प्रशासनिक खर्च ऋणको ०.७५ प्रतिशतसम्म शुल्क लिन पाउँछन्। बैंकहरुको आफ्नो नीतिअनुसार ऋणको लागि जागिरेले पारिश्रमिकको सर्टिपिकेट, बैंक स्टेटमेन्ट, पारिश्रमिक सम्झौतापत्र बैंकलाई उपलब्ध गराउनुपर्छ।

गाडी खरिदकर्ता कम्पनी सञ्चालक वा कम्पनीको लागि नेपाल सरकारबाट मान्यता प्राप्त कार्यालयबाट प्रदान गरेको प्रमाणपत्र देखाउनुपर्नेछ। साझेदारीको व्यवसाय भए उक्त डकुमेन्ट बुझाउनुपर्नेछ। हाल सबैभन्दा कम बेसरेट रहेको राष्ट्रिय वाणिज्य बैंकले ७.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ।

हिमालयन बैंकले सवारीसाधन कर्जा ७.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउँदै आएको छ। कमर्सियल भेहिकलको लागि भने ९.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको छ। बैंकले सार्वजनिक यातायातको लागि ५ वर्षको अवधिको लागि ऋण उपलब्ध गराउँछ भने निर्माणसँग सम्बन्धित हेभि इक्विपमेन्टको ८ वर्षको अवधिको लागि ऋण दिनसक्ने बताएको छ।

यसमा ५ लाखदेखि २ करोडसम्म ऋण उपलब्ध गराउनसक्ने जनाएको छ। सार्वजनिक यातायातमा ७० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सक्ने र निर्माणसम्बन्धी हेभी इक्विपमेन्टमा ८० प्रतिशतसम्म ऋण प्रवाह गर्नसक्ने बैंकले उल्लेख गरेको छ। हिमालयन बैंकको गत महिनाको बेसरेट ६.८३ प्रतिशत रहेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६ वर्षसम्मको लागि अटो लोन दिँदै आएको छ। बैंकले १ करोड ५० लाखसम्म गाडी खरिदमा ऋण उपलब्ध गराउनसक्ने बताएको छ। बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण हुने बताएको छ। पुसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६.०७ प्रतिशत बेसरेट रहेको थियो।

एनएमबी बैंकले व्यक्ति वा व्यावसायिक फर्मले ऋण आह्वान गर्दा २० वर्षदेखि ६५ वर्षसम्मको ५० लाखसम्म ऋण उपलब्ध गराउँछ। बैंकले ऋण अवधि ७ वर्ष तोकेको छ। पुस महिनामा एनएमबीको बेसरेट ७.४० प्रतिशत रहेको थियो।

ग्लोबल आईएमई बैंकले ७ वर्ष अवधिको लागि ऋण उपलब्ध गराउने उल्लेख गरेको छ। यसमा २१ वर्ष माथिको व्यक्तिले ऋण पाउँछन्। जागिरे, स्वरोजगार, कम्पनी वा फर्मले ऋण पाउन सक्छन्। बैंकको पुसमा ६.७६ प्रतिशत बेसरेट रहेको थियो।

सानिमा बैंकले नयाँ र पुराना दुवै गाडीमा ऋण लगानी गर्ने बताएको छ। बैकले नयाँ गाडीको लागि बढीमा १० वर्षको लागि र पुराना गाडीको लागि ५ वर्षको अवधि रहेको छ। बैंकले ५० लाखसम्म ऋण उपलब्ध गराउँदै आएको छ। बैंकको मंसिरमा बेसरेट ६.९० प्रतिशत रहेको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकले ६० वर्षसम्मको नेपाली नागरिकलाई अटोलोन दिनसक्ने बताएको छ। निजी र कमर्सियल गाडीको लागि ५ वर्षको अवधिको लागि ऋण उपलब्ध गराउँछ भने विद्युतीय गाडीको लागि ४ वर्ष अवधि तोकेको छ। इन्भेष्टमेन्टको बेसरेट ६.५६ प्रतिशत रहेको छ।

कुमारी बैंकले नयाँ र रिकन्डिसन दुवै गाडीको लागि ऋण प्रवाह गर्दै आएको छ। बैंकले ६ महिनाका आम्दानी स्रोतको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, नयाँ गाडीको कोटेसन, पुरानो गाडीको भ्यालुएसन र १२ महिनाको बैंक स्टेटमेन्ट देखाउनुपर्नेछ। बैंकको बेसरेट ७.९२ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .