नेपाली युवाको वैदेशिक रोजगार गन्तव्य राष्ट्र बहरेनमा नेपाली युवाहरुले गोल्डस्टार जुत्ताको शोरुम खोलेका छन्।
लामो समयदेखि बहरेन बस्दै आएका तीन जना नेपाली युवाले आली भन्ने स्थानस्थित राम्ली मलको पहिलो तलामा उक्त शोरुम खोलेका हुन।
गाेल्डस्टारसँग आधिकारिक बिक्रेताकाे अनुमति लिएर उनीहरूले सन् २०२० को सेप्टेम्बरदेखि व्यवसाय थालेकाे सोही शोरुममा कार्यरत मगेन्द्र चापागाईंले जानकारी दिए।
झापा धुलाबारीका बसन्त विस्ट, दोलखा जिरीका पोश जिरेल र काठमाडौंकी शोभा शाक्य मिलेर नेपालमा बनेका गोल्ड स्टार ब्रान्डका जुत्ताहरु बिक्री थालेका हुन्।
शोरुममा तीनै जनाको बराबर लगानी रहेको विष्टले नेपालखबरलाई जानकारी दिए।
‘हामी तीन जना नै लगभग १० वर्ष बढी यहीँ बस्दै आएका छौँ’, उनले भने, ‘कोरोना महामारी सुरु हुनुअघि नै खोल्ने योजना थियो, सम्भव भएन। त्यसैले महामारीकै बीचमा सुरु गर्यौँ।’
उनका अनुसार हालसम्म नेपालबाट दुईवटा शिपमेन्टमा २७ सय जोर नेपाली जुत्ता लगिसकिएको छ।
उक्त शोरुममा अहिले उनीहरुले ४० मोडलका जुत्ता बिक्री गरिरहेका छन्। साथै, सोही शोरुममा भारतीय डीसी प्रोडक्टका टि–शर्ट पनि बिक्री गरिरहेको विष्टले बताए।
‘टिशर्टचाहिँ हाम्रो कोल्याबोरेसनमा हो’, उनले भने।
उनका अनुसार १५ सयदेखि ३ हजार नेपाली रुपैयाँ मूल्यका जुत्ताहरु शोरुममा रहेका छन्।
नेपाली जुत्ताबारे बहरेनमा राम्रो ‘फिडब्याक’ आएको विष्टले जानकारी दिए। यद्यपि अहिले कोरोनाको कारण सबैतिर असर पर्दा आफूहरु पनि प्रभावित हुनुपरेको उनको भनाइ छ।
तीन युवाले सुरु गरेको व्यवसाय कोरोना महामारीका बीच टिक्न सकेको उनीहरुको भनाइ छ। ‘शोरुम खुलेयता नै कोरोनाको एकदमै असर छ’, विष्टले भने, ‘जे होस्, कोशिस हो हेर्दै जाऔँ गर्दै गरौँ भनेर हो।’
Shares
प्रतिक्रिया