ad ad

कारोबार


बिपी राजमार्गका होटलमा खाद्य स्वच्छता स्टिकर

बिपी राजमार्गका होटलमा खाद्य स्वच्छता स्टिकर

नेपालखबर
असार ४, २०७६ बुधबार ७:५४,

बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टासेको हो।

राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो। स्टिकरमा थोरैले मात्र खाद्य स्वच्छतामा राम्रो अङ्क प्राप्त गर्दै उक्त स्टिकर पाएका छन्। अधिकांश होटलले भने पहेँलो रङको स्टिकर पाएका छन्।

डिभिजन कार्यालय सिन्धुलीले चियाबारीका २१ र खुर्कोटका २५ वटा होटलमा अहिलेसम्म खाद्य स्वच्छता स्टिकर टाँसेको कार्यालय प्रमुख प्रेम अर्यालले जानकारी दिए । पटक पटकको अनुगमन पछि खाद्य स्वच्छता स्टिकर टाँसिएको हो। उनले भने, “सिन्धुली चियाबारीका २१ होटलले पहेँलो स्टिकर पाएका छन् जुन होटलमा लगाइएको स्टिकरले खाद्य स्वच्छताको दृष्टिकोणले सरसफाइ र होटलको व्यवस्थापनमा कमी भन्ने अर्थ लगाउँछ, हरियो रङको स्टिकर पाउने होटलमा उपभोक्ताले निर्धक्क खान सक्छन् ।”

खुर्कोटमा होटलको अनुगमन गर्दा २५ होटलमा स्टिकर टाँसिएको र १५ वटा दर्ता बिना सञ्चालनमा रहेको पाइएको थियो। अब १५ वटा होटलमा स्टिकर टाँस्न बाँकी छ। “खुर्कोटका होटलमा भने पहिलाको अवस्थाभन्दा अहिले उल्लेख्य सुधार आएको पाएका छौँ”, कार्यालय प्रमुख अर्यालले भने। खुर्कोटमा सात होटलले दुई स्टार भएको हरियो, १० वटाले एउटा स्टार भएको हरियो र आठ वटा होटलले पहेँलो रङको स्टिकर पाएका छन्।

तीनवटा हरियो स्टिकर खाद्य स्वच्छताको स्तरमा क–अति उत्तम, ख–उत्तम, ग–सन्तोषजनक र पहेँलो रङको घ– सामान्य स्टिकर हुन् । तीनवटा हरियो स्टिकर रहेका होटलमा खाना निर्धक्कसाथ खान सकिने र पहेँलोमा खाना खान सोचेर मात्र खानुपर्ने भन्ने जनाउँछ। स्टिकर टाँस गर्न होटलको स्तरीकरण ५० वटा सूचकका आधारमा तयार गरिएको छ। डिभिजन कार्यालयले होटल स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम गरेको मूल्याङ्कनमा होटलले सरसफाइ र खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको बताइएको छ। मूलकोट र भिमानलगायत अन्य क्षेत्रका होटलमा स्टिकर टाँस्ने जनाइएको छ।

होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष अमृतबहादुर श्रेष्ठको संयोजकत्वमा जेठ १ गते खाद्य स्वच्छतास्तरीकरण समिति गठन गरिएको थियो। समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली, स्थानीय जनप्रतिनिधि सदस्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली सदस्य सचिव छन्।

सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले होटलमा स्टिकर टाँस गर्दै स्तर सुधार गर्न आग्रह गरे। मापदण्डमा सञ्चालन नभएका होटललाई स्तर सुधार गर्न केही समय दिइने र त्यसपछि पनि सुधार नगरे कारवाही गर्ने उनले बताए। पछिल्लो समयमा राजमार्गको विस्तारसँगै सवारीको चाप बढ्दै जाँदा दिन प्रतिदिन होटलको सङ्ख्यामा वृद्धि भएको र गुणस्तरहीन खाना, खाजा खुवाएको भन्ने गुनासो आएकाले विभिन्न निकायसँग सहकार्य गरेर अनुगमन गरिएको उनको भनाइ थियो।

होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष श्रेष्ठले होटल व्यवसायीको हितका लागि होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको बताए। व्यवसाय सञ्चालन गर्दै गर्दा नियममा रहेर गर्नुपर्ने भन्दै उनले व्यवसायीले गुणस्तरीय व्यवसायको सन्दर्भमा काम गर्न आग्रह गर्दै कम्तीमा पनि खाद्य स्वच्छताको मापदण्ड पूरा गर्न व्यवसायीलाई आग्रह गरे।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .