‘नाडा ईभी एक्स्पो–२०२२’ आइतबार सम्पन्न भएको छ।
काठमाडौंको भृकुटीमडपमा असोज ६ गतेदेखि चलेको नाडा ईभी एक्स्पोमा ३० हजारले अवलोकन गरेका छन्।
ईभी एक्स्पोका सभापति अनुप बरालले औसतमा ३० हजार बढी अवलोनकर्ताको उपस्थिति रहेको बताए।
‘सुरुका तीन दिनमा २५ हजारले अनुगमन गरेका थिए।’ उनले भने, ‘आइतबार मात्रै कम्तीमा ५ हजार थपिए पनि ३० हजारले अवलोकन गरेको अनुमान छ।’
उनका अनुसार अपेक्षा भन्दा धेरै नै अवलोनकर्ता आएका छन् भने समग्र कार्यक्रम पनि लक्ष्य भन्दा उत्कृष्ट भएको छ।
अवलोकनकर्ताको संख्या, चाँसो र सवारी बुकिङ्ग राम्रो भएपछि सहभागी कम्पनीले प्रर्दशनी कार्यक्रमको लागि समय थप गर्न समेत माग गरेका थिए।
‘अपेक्षाभन्दा राम्रो प्रतिकृया पाएपछि स्टल सहभागीहरुले प्रदर्शनीको लागि समय थप गर्न माग नै गर्नु भएको थियो’, उनले भने, ‘पूर्वनिर्धारित समयअनुसार गर्नुपर्ने भएकाले सम्भव रहेन र आजै समापन ग¥यौँ।’
नेपालको इतिहासमै विद्युतीय सवारीको प्रर्दशनी मेला पहिलो पटक लागेको हो। पहिलो पटक भए पनि मेला सोचेभन्दा निकै फलदायी र उपलब्धिमुलक भएको नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष ध्रुव थापाले बताए।
‘विद्युतीय सवारी प्रदर्शनी मेला के कस्तो होला भनेर जति उत्साहित थिएँ त्योभन्दा बढी डर पनि लागेको थियो’, उनले भने, ‘अन्तिममा आउँदासम्म मेला निकै व्यवस्थित, निजी तथा सरकारीका साथ साथै अन्तर्राष्ट्रिय स्तरबाट समेत सहयोग र हौसला पाउँदा निकै खुसी महसुस भएको छ।’
सुरुमा ‘ईभी एक्स्पो’ को अवधारणा ‘अटो शो’ नहुने भएपछि आएको भएपछि टिमको छलफल पश्चात ईभीको अपरिहार्यतालाई महशुस गर्दै सुरु गरिएको अध्यक्ष बताए।
सरकारले निजी तथा ठूला सवारी साधनको आयात बन्द गरेपछि नाडाले ‘अटो शो–२०२२’ स्थगित गरेको थियो। यता सरकारले विद्युतीय सवारीलाई भने प्रवृद्धन गर्ने उद्देश्यका साथ आयात प्रतिबन्ध नगर्ने निर्णय गरेको थियो। फलस्वरुप नाडाले विद्युतीय सवारीको प्रदर्शनी गर्ने तयारी गरेको थियो। वद्युतीय सवारीसाधनको महत्व बढ्दै गएको थापाले बताए। ईभीको प्रयोगले प्रदूषण कम गर्ने मात्र नभई विद्युत् खपतमा समेत सहयोग पुग्ने बताए ।
वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने उनको बुझाइ छ।
ईभी एक्स्पोसँगै नाडाले ‘ईभी चौतारी’ समेतसँग अगाडि बढाएको थियो। प्रर्दशर्नी सुरु भएको अर्काे दिनदेखि नाडाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसआइडी) को सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो।
कार्यक्रममा पहिलो दिन अर्थात् असोज ७ गते ईभी टेक्नोलोजी रएकोसिस्टम, ८ गते फाइनान्सियल एस्पेक्ट अफ ईभी शीर्षक र आइतबार पोलिसिज फर प्रमोटिङ ईभी शीर्षकमा छलफल सम्पन्न भएको छ।
बिहीबार कार्यक्रममको औपचारिक उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले ईभी एक्सपो नाडा मात्रै नभई सरकारकै लागि महत्वपूर्ण रहेको बताएका थिए। जनमानसमा भएका जिज्ञासा र अन्यौलतालाई समेत समाधान गर्ने उनको भनाइ थियो। अर्थमन्त्री शर्माको उक्त अपेक्षालाई ईभी चौतारीले थप सार्थकता प्रदान गरेको छ।
ईभी चौतारीमा भएका प्रविधि देखि कानुनी विषयगत छलफलले ईभीमा चासो राख्ने धेरैलाई स्पष्टता प्रदान गरेको छ।
नाडाका उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री प्रदीप यादव, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायत सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उत्साहपूर्वक उपस्थिति रहेको नाडाले जनाएको छ।
सबै तस्बिर : नाडा
Shares
प्रतिक्रिया