नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन प्रधानमन्त्री सकारात्मक भएका छन्।
शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी समस्या समाधान गर्न आग्रह गरेको हो।
भेटघाटमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरुबारे संक्षिप्त रुपमा चर्चा गर्दै अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनुपर्ने बताएका थिए।
उनले बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनुपर्ने बताए।
चालू पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधन गरिनुपर्ने उनको भनाइ थियो।
त्यस्तै भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्बाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्न उनले आग्रह गरे।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरुबारे प्रिजेन्टेसनमार्फत विस्तृत रुपमा जानकारी गराए।
भेटघाटमा प्रधानमन्त्री दाहालले विद्युतीय सवारीसाधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोबाइलसम्बन्धी उद्योगहरुको सम्भावनाहरुबारे विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गर्ने बताएका थिए।
छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया लगायत व्यवसायी थिए।
Shares
प्रतिक्रिया