चालू आर्थिक वर्षको ६ महिनामा सबै क्षेत्रमा कर्जा प्रवाह बढ्दा गाडी खरिदमा घटेको छ। हायर पर्चेज कर्जा करिब २० प्रतिशतले घटेको हो।
राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार हायर पर्चेज कर्जा १९.९ प्रतिशतले घटेको छ।
२०७९ असार मसान्तसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म १ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको थियो। गत वर्षको ६ महिनामा १३ अर्ब ६६ करोड रुपैयाँले घटेको थियो।
चालू आर्थिक वर्षको सुरुमा १ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएकोमा अहिले ३१ अर्ब ७३ करोड रुपैयाँले घटेको छ। ६ महिनामै १९.९ प्रतिशतले घटेको छ। अहिले बैंकहरुले हायर पर्चेज कर्जाबापत १ र्ख २७ अर्ब रुपैयाँ लगानीमा सीमित छ।
गाडीसँगै पार्ट्स बिक्रीको कर्जा घटेको छ। गत असार मसान्तसम्म ३४ अर्ब ३३ करोड रुपैयाँ प्रवाह भएकोमा अहिले ३० अर्ब ५० करोडमा सीमित भएको छ। ६ महिनामा ३ अर्ब ८३ करोड रुपैयाँले घटेको हो।
तर अटोमोटिभ डिलरले भने ऋण बढाएका छन्। डिलरले असारसम्म ८६ अर्ब ६२ करोड रुपैयाँ ऋण लिएकोमा पुससम्म ८८ अर्ब ४९ करोड रुपैयाँ ऋण बढेको हो। व्यवसायीले ६ महिनामा २ अर्ब २२ करोड लगानी बढाएका छन्।
यसबाहेक, साउनयता बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशतले बढेको छ।
त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले बढेको छ ।
६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, नगद प्रवाह कर्जा २७.५ प्रतिशतले, आयात कर्जा ५.८ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १०.५ प्रतिशतले बढेको छ ।
Shares
प्रतिक्रिया